शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–२ मा एमालेका उम्मेदवार मनोजजंग थापाको सम्भावना बलियो

सोमवार , फाल्गुण १८, २०८२

सिन्धुली,१८ फागुन  — प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा सिन्धुली–२ मा राजनीतिक प्रतिस्पर्धा क्रमशः तीव्र बन्दै गएको छ । तर स्थानीय राजनीतिक समीकरण, बिगतका निर्वाचन परिणाम र मतदाताको मनोविज्ञानलाई आधार मान्दा नेकपा (एमाले) का उम्मेदवार मनोजजंग थापाको जितको सम्भावना बलियो देखिएको विश्लेषण स्थानीय राजनीतिक वृत्तमा हुन थालेको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार बिगतका मत परिणाम, प्रतिस्पर्धी दलभित्र देखिएको असन्तुष्टि र मतदातामा बढ्दो परिवर्तनको चाहनाले थापाको पक्षमा अनुकूल वातावरण सिर्जना गरेको छ ।

सिन्धुली–२ मा बिगतका निर्वाचन परिणामलाई हेर्दा एमालेको जनमत बलियो देखिन्छ । निर्वाचन क्षेत्र पुनर्संरचना पछि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा माओवादी केन्द्रका हरिबोल गजुरेल ३० हजार १७९ मतसहित विजयी भएका थिए । त्यसबेला नेपाली काँग्रेसका नरेन्द्रजंग थापाले १८ हजार १२७ मत प्राप्त गरेका थिए ।

२०७९ मंसिरमा भएको पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो भने एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । सो निर्वाचनमा माओवादी केन्द्रका लेखनाथ दाहाल (राजन) २७ हजार ५१७ मतसहित विजयी हुँदा एमालेका मनोजजंग थापा २१ हजार ६८७ मत ल्याएर उपविजेता बनेका थिए ।

त्यसै निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा पनि सिन्धुली–२ मा एमाले पहिलो शक्ति देखिएको थियो । एमालेले १७ हजार १४९ मत प्राप्त गर्दा माओवादी केन्द्रले १५ हजार ८२६, काँग्रेसले १३ हजार ३४९ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९५४ मत प्राप्त गरेका थिए ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको मत परिणामले पनि एमाले बलियो संगठनात्मक आधार भएको देखाएको थियो।  एमालेले २१ हजार ४५२ मत प्राप्त गर्दा काँग्रेस–माओवादी गठबन्धनले करिब १९ हजार ९०० मत प्राप्त गरेको थियो ।

यसपटकको निर्वाचनमा प्रतिस्पर्धी दलभित्र देखिएको असन्तुष्टि पनि चुनावी समीकरणको महत्वपूर्ण पक्ष बनेको छ । नेकपा भित्रैबाट लेखनाथ दाहाल (राजन) विरुद्ध महेश्वर दाहाल स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएपछि पार्टीभित्र मत विभाजन हुने सम्भावना देखिएको छ ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सुशिला थिंग विरुद्ध जिल्ला उपसभापति खड्गबहादुर वाइवाले स्वतन्त्र उम्मेदवारी दिएका कारण कांग्रेसभित्र पनि असन्तुष्टि सतहमा आएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रतिस्पर्धी दलभित्रको गुटबन्दी, बागी उम्मेदवारी र कार्यकर्तामा देखिएको निष्क्रियताले एमाले उम्मेदवार थापालाई प्रत्यक्ष लाभ पुग्ने सम्भावना छ ।

मतदातामा देखिएको परिवर्तनको चाहनालाई पनि यसपटकको निर्वाचनको महत्वपूर्ण कारक मानिएको छ । मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू यसअघि नै संसदमा प्रतिनिधित्व गरिसकेका कारण उनीहरूले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप मतदाताले लगाउने गरेका छन् ।

यस अवस्थालाई मध्यनजर गर्दै नयाँ विकल्पको खोजीमा रहेका मतदाताका लागि मनोजजंग थापा आकर्षक उम्मेदवारका रूपमा देखिएका छन्। शालीन स्वभाव र संयमित राजनीतिक शैलीका कारण पनि थापाप्रति मतदाताको झुकाव बढ्दै गएको स्थानीय स्तरमा चर्चा छ । २०७९ को निर्वाचनमा गठबन्धनको सामना गर्दै पनि उल्लेख्य मत प्राप्त गरेका थापालाई यसपटक सहानुभूतिका मतसमेत प्राप्त हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीय तह निर्वाचन–२०७९ मा सिन्धुली–२ का पाँचै स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्रको नेतृत्व स्थापित भएको थियो । स्थानीय सरकारप्रति असन्तुष्ट मतदाताले सत्ता विरोधी मत प्रतिपक्षी दलतर्फ केन्द्रित गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ । यसले पनि एमाले उम्मेदवार थापाको पक्षमा वातावरण बन्ने अनुमान गरिएको छ ।

विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा सक्रिय मनोजजंग थापा शालीन र नीतिगत राजनीतिका पक्षधर नेताका रूपमा चिनिन्छन् । 

सिन्धुलीगढी र हरिहरपुरगढीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने पहल, मरिण क्षेत्रमा मासु प्रशोधन उद्योग स्थापना प्रयास तथा सुनकोशी–मरिण डाइभर्सन आयोजनालाई पूर्णता दिन खेलेको भूमिकालाई उनका समर्थकहरूले महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।

स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका आधारभूत क्षेत्रका मुद्दामा सक्रिय भूमिका खेलेका थापालाई सिन्धुलीको दीर्घकालीन विकासका पहलकर्ताका रूपमा मतदाताले हेर्ने गरेको उनका समर्थकहरूको दाबी छ ।

यद्यपि चुनावी प्रतिस्पर्धा अन्तिम समयसम्म खुला रहने भए पनि वर्तमान राजनीतिक समीकरण, दलगत अवस्था र जनमतको प्रवृत्ति हेर्दा निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न भए सिन्धुली–२ मा मनोजजंग थापाको जितको सम्भावना बलियो देखिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

 

 

प्रतिक्रिया