सिन्धुली,१८ फागुन — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरस्थित मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना आइतबार राति अन्दाजी ९ः३० बजे भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार सिन्धुलीबाट हेटौँडा तर्फ जाँदै गरेको वा ४४ प ९८१७ नम्बरको २२० सीसी क्षमताको मोटरसाइकल अचानक अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको कानमा गम्भीर चोट लागेको बताइएको छ । घटनापछि चालकको अवस्था गम्भीर देखिएकाले तत्काल उपचारका लागि हेटौँडा तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
घटनाका बेला चालकको नाम, थर र ठेगाना भने खुल्न नसकेको प्रहरीको भनाइ छ । प्रहरीले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी चौकी झनझनेले जनाएको छ । साथै, रातिको समयमा तीव्र गति, सडकको अवस्था र सावधानीको कमीका कारण यस्ता दुर्घटना हुने सम्भावना बढी हुने भएकाले सवारी चालकलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।