शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बन्चरो प्रहारबाट श्रीमतीको हत्या, श्रीमान् पक्राउ

आइतवार , फाल्गुण १७, २०८२


सिन्धुली,१७ फागुन — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा श्रीमानले बन्चरो प्रहार गर्दा श्रीमतीको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

आइतबार अपराह्न करिब ४ बजेर ३० मिनेटतिर जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका करिब ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईले आफ्नै घरभित्र श्रीमती करिब ४५÷४६ वर्षीया रिता राईलाई बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

प्रहरीका अनुसार घरभित्रै भएको उक्त घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी सहायक निरीक्षक नरेशकुमार रायको कमाण्डमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीसहित १२ जनाको टोली तुरुन्तै घटनास्थलतर्फ खटिएको थियो । प्रहरी टोली घटनास्थल पुगेपछि आरोपित श्रीमान् वीरबहादुर राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको कारण भने अझै खुल्न सकेको छैन । घटनाबारे विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोककुमार यादवको कमाण्डमा थप अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थलमा आवश्यक मुचुल्का तयार गरी प्रमाण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

मृतक रिता राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको छ । पोस्टमार्टम प्रतिवेदनपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार दम्पतीबीच के कारणले यस्तो घटना भयो भन्ने विषय स्पष्ट भइसकेको छैन । घटनाले स्थानीय समुदायमा त्रास र शोकको वातावरण सिर्जना भएको छ । प्रहरीले पक्राउ परेका वीरबहादुर राईमाथि कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

 

 

प्रतिक्रिया