सिन्धुली,१७ फागुन — केही साताअघिसम्म प्रतिस्पर्धात्मक मानिएको सिन्धुली–२ निर्वाचन क्षेत्रको राजनीतिक माहोल पछिल्ला दिनहरूमा नाटकीय रूपमा बदलिएको देखिन्छ । स्थानीय तहमा नेकपा (एमाले) को गतिविधि तीव्र बन्दै जाँदा, ‘यसपालि एमालेले बाजी मार्ने’ भन्ने चर्चा गाउँ–बस्तीमा फैलिएको छ ।
स्थानीय चोक, बजार र मुख्य सडकहरूमा देखिएको भीड र नाराबाजीले एमाले पक्षधरहरूको मनोबल बढेको संकेत गर्छ । झण्डा, र्याली र घरदैलो अभियानको आकृति बढेसँगै, स्थानीयले यसलाई ‘सिन्धुलीको सडक सुर्यमय भएको’ भनेर व्याख्या गरिरहेका छन् ।
मनोज जंगको नाममा केन्द्रित बहस
स्थानीय राजनीतिक संवादमा एमाले उम्मेदवार मनोजजंगको नाम बारम्बार उठिरहेको छ । चिया पसल, सार्वजनिक चौतारी र सामाजिक सञ्जालमा उनको पहुँचयोग्य छवि र प्रत्यक्ष भेटघाट अभियानको चर्चा छ । एक स्थानीय व्यवसायी भन्छन्, “पहिला नेताहरू पोस्टरमै देखिन्थे, अहिले त उम्मेदवार आफैँ आइपुग्छन् । त्यसले माहोल बदलिएको हो ।”
युवाहरूको सहभागिता उल्लेखनीय देखिन्छ । पछिल्ला कार्यक्रममा युवाको उपस्थिति बढ्दा प्रतिस्पर्धी दलका कार्यकर्ताहरू पनि रणनीति पुनर्विचार गर्न बाध्य भएको स्थानीय विश्लेषकहरू बताउँछन् । प्रतिस्पर्धाको समीकरण बदलिँदै गएको स्थिति छ ।
केही दिन अघिसम्म बलियो मानिएका प्रतिस्पर्धी दलहरू हाल आफ्नो आधार जोगाउन केन्द्रित देखिन्छन् । प्रचार–प्रसारको तीव्रतामा आएको असन्तुलनले मतदाता धारणा परिवर्तन गरिरहेको संकेत मिल्छ । अरु पार्टीमा बागी उम्मेद्बार रहेको तर यसपाली एमाले एक ढिक्का भएकाले ढुक्कले जीत्ने धेरै स्थानीयले बताए । एमालेका मनोजजंग थापालाई भोट हाल्न अन्तिम निर्णय लिएका एक स्थानीय मतदाताले भने,“आज सदरमुकामको चुनावी लहर मतदानको दिनसम्म टिकिरहने अबस्था रहे जीत निश्चित जस्तै देखिन्छ ।”
सिन्धुली–२ मा देखिएको पछिल्लो राजनीतिक चहलपहलले एमालेको उभारलाई स्पष्ट संकेत गरेको छ । वर्तमान ‘लहर’ मतदानको दिनसम्म कायम राख्न सके त्यसले नै अन्तिम फैसला गर्ने अर्का ब्यापारीले बताए ।