सिन्धुली,१७ फागुन — आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समितिले सुरक्षात्मक तयारीलाई तीव्र बनाएको छ । यसै सन्दर्भमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले शनिवार कमलामाई नगरपालिका वडा नम्बर ५ र ८ अन्तर्गतका विभिन्न मतदानस्थलको स्थलगत अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा मतदानस्थलको भौतिक अवस्था, संवेदनशीलता, पहुँच मार्ग, सुरक्षा घेराबन्दी तथा आकस्मिक अवस्थाको तयारीबारे विस्तृत समीक्षा गरिएको थियो । सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नरहने गरी आवश्यक पूर्वतयारी पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जनाइएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले निर्वाचन सुरक्षामा खटिने सम्पूर्ण प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् । उनले जिल्ला प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय खुर्कोट, कपिलाकोट, भिमान, डकाहा, प्रहरी चौकी डाँडीगुरासे, हत्पते तथा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत प्रहरी कर्मचारीहरूका साथै निर्वाचनका लागि थप मद्दतस्वरूप आएका प्रहरी जनशक्तिलाई उच्च सतर्कता, समन्वय र अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।
प्रहरी उपरीक्षक सुवेदीले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले कुनै पनि अवाञ्छित गतिविधि सह्य नहुने स्पष्ट पार्दै मतदाताले निर्भय रूपमा मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिएका हुन् । उनले सूचना संकलन, गस्ती परिचालन, भीड व्यवस्थापन तथा आकस्मिक प्रतिक्रिया योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएका छन् ।
जिल्ला सुरक्षा समितिले निर्वाचन अवधिभर सुरक्षा संयन्त्र उच्च सतर्कतामा रहने जनाएको छ । सम्बन्धित निकायहरूबीच निरन्तर समन्वय र निगरानीलाई प्राथमिकतामा राखिएको छ। जिल्लामा शान्ति, सुव्यवस्था र कानुनको पूर्ण पालना सुनिश्चित गर्दै निर्वाचन सफल बनाउन सबै पक्षलाई सहयोग गर्न सुरक्षा निकायले आग्रह गरेको छ ।