शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

दर्जनौं प्रश्नको घेरामा नेकपा उम्मेदवार दाहाल

स्थानीय सत्ताको दुरुपयोगदेखि पार्टी ब्यक्तिकेन्द्रित बनाएको आरोप

आइतवार , फाल्गुण १७, २०८२

सिन्धुली,१७ फागुन – नेपाली कम्युनिष्ट पार्टीबाट सिन्धुली–२ मा उम्मेदवार बनेका लेखनाथ दाहाल(राजन) यतिवेला जनताको घरदैलोमा मत माग्न पुगिरहदा मतदाताको दर्जनौं प्रश्नहरुको घेरामा  पर्ने गरेका छन । लामो समय देखी पार्टी र सत्ताको केन्द्रमा बसेर गतिविधी गरिरहेका दाहालले स्थानीय सत्ताको ब्यापक दुरुपयोग, भ्रष्टाचार प्रति मौन समर्थन तथा पार्टी राजनीतिलाई क्रमश ः ब्यक्ति केन्द्रित बनाएको आरोप तिब्र बन्दै गईरहेको छ । 

राजनीतिक शक्तिको आडमा(विशेषत प्रचण्ड)को संरक्षणमा राज्यको श्रोत साधन नियन्त्रणमा लिने र त्यसलाई आफु अनुकुल स्वार्थका लागी प्रयोग गर्ने ब्यवाहारका कारण सामाजिक सञ्जालमा देखिएको उनको स्टन्टशैली बाहिरी रुप मात्र भएको आरोप उनी माथि लाग्दै आएको छ ।  

दाहालले भने आफूविरुद्ध लगाइएका आरोप राजनीतिक प्रेरित भएको दाबी गर्दै आएका छन् । तर सामाजिक सञ्जाल र सार्वजनिक बहसमा उनको भूमिकालाई लिएर प्रश्नहरू उठिरहेका छन् । केही मतदाताले राजनीतिक शक्तिको आडमा राज्यका स्रोत–साधन आफ्ना निकटका समूहलाई केन्द्रित गरिएको आरोप लगाएका छन् । यस विषयमा दाहाल पक्षले कुनै गैरकानुनी कार्यमा संलग्न नरहेको र सबै काम कानुनी प्रक्रियाअनुसार भएको दाबी गरेको छ ।

जिल्लाभित्रका प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापन, विशेषगरी सुनकोशी क्षेत्रसँग सम्बन्धित विषयमा पनि बहस चर्किएको छ । आलोचकहरूले स्रोत दोहन र अनियमितताको आशंका व्यक्त गर्दै पारदर्शिताको माग गरेका छन् । यद्यपि सम्बन्धित स्थानीय तहहरूले ती आरोप अस्वीकार गर्दै विकास निर्माण र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन् ।

दाहालकै संरक्षणमा केही स्थानीय तहमा अनियमितता भएको भन्ने आरोप समेत सार्वजनिक रूपमा उठाइएको छ । तर सम्बन्धित व्यक्तिहरूले आरोप निराधार रहेको बताएका छन् । दुधौली र हरिहरपुरगढीका जनप्रतिनिधिसँग सम्बन्धित विवादित घटनालाई लिएर पनि राजनीतिक आरोप–प्रत्यारोप चलेका छन् । कानुनी प्रक्रियामा रहेका विषयलाई लिएर दाहालमाथि राजनीतिक संरक्षणको आरोप लागे पनि उनले कानुनले आफ्नो काम गरिरहेको बताएका छन् ।

दाहालका आलोचकहरू उनका भाषण र व्यवहारबीच असमानता रहेको दाबी गर्छन् । उनी सार्वजनिक मञ्चमा भ्रष्टाचारविरुद्ध कडा अभिव्यक्ति दिने गरे पनि व्यवहारमा त्यसअनुरूप नदेखिएको आरोप लगाइन्छ । यद्यपि दाहालले विगतका कार्यकालमा सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गर्दै आएका छन् । उनले आफूले सुरु गरेका योजनाहरूलाई निरन्तरता दिन मतदातासँग आग्रह गरेका छन् ।

२०७४ को निर्वाचनमा प्रदेशसभा र २०७९ मा प्रतिनिधिसभा निर्वाचन जितेका दाहाल सधैं सत्ताको निर्णायक घेराभित्र रहेको टिप्पणी हुने गरेको छ । उनका परिवारका सदस्य पनि स्थानीय तहको नेतृत्वमा रहेका कारण पारिवारिक प्रभावबारे प्रश्न उठ्ने गरेका छन् । यद्यपि समर्थकहरू भने यसलाई अनुभव र निरन्तरताको रूपमा व्याख्या गर्छन् ।

घरदैलो अभियानका क्रममा दाहालले रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र सुशासन आफ्नो प्राथमिकता रहेको बताएका छन् । तर मतदाताहरूले विगतको कार्यसम्पादन, पारदर्शिता र जवाफदेहिताको विषयमा स्पष्ट धारणा मागिरहेका छन् । केही स्थानमा प्रश्नको जवाफ दिँदै उनले विकासका अवरोधहरू संघीय संरचना, स्रोत अभाव र नीतिगत जटिलतासँग जोडिएका रहेको बताएका छन् ।

निर्वाचन मिति नजिकिँदै जाँदा आरोप र प्रत्यारोपबीच मतदाताको अन्तिम निर्णय मतपेटिकाबाटै प्रकट हुनेछ । चुनावी मैदानमा उठेका प्रश्नहरूको राजनीतिक मूल्यांकन अब मतदाताको विवेकमा निर्भर रहनेछ ।

प्रतिक्रिया