शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सही नेतृत्वको प्रतिबद्धताः सेवाका लागि मनोज जंग थापाको दृढ अपिल

आइतवार , फाल्गुण १७, २०८२

सिन्धुली,१७ फागुन – नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोज जंग थापाले आफू शक्ति र पदको खोजीमा नभई जनताको सेवा गर्ने जिम्मेवारीका लागि चुनावी मैदानमा उत्रिएको बताएका छन् । आगामी २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले सामातजिक सञ्जाल फेसबुक मार्फत मतदातासमक्ष भावनात्मक र स्पष्ट अपिल गरेका छन् ।

थापाले राजनीति व्यक्तिगत स्वार्थ पूरा गर्ने माध्यम नभई जनताको आवाज सुन्ने र तिनका समस्या समाधान गर्ने प्रतिबद्धता भएको उल्लेख गरे । “म शक्ति खोज्न होइन, तपाईँहरूको सेवा गर्ने जिम्मेवारी माग्न आएको छु,” उनले भने, “राजनीति पद होइन, जनताको आशा र विश्वासको सम्मान गर्ने दायित्व हो ।”

थापाले सिन्धुली क्षेत्र नं. २ का नागरिकका आवश्यकता, समस्या र सम्भावनालाई नजिकबाट बुझेको दाबी गर्दै समृद्ध र आत्मनिर्भर क्षेत्र निर्माण आफ्नो लक्ष्य रहेको बताए । उनले कृषि उत्पादनको आधुनिकीकरण, स्थानीय उद्योगको प्रवद्र्धन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवामा जोड दिने प्रतिबद्धता व्यक्त गरे । साथै सडक, खानेपानी, सिँचाइ र विद्युत् जस्ता आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने उनले स्पष्ट पारे ।

उनका अनुसार विकासका योजना कागजमा सीमित नभई व्यवहारमा लागू हुनुपर्छ । त्यसका लागि पारदर्शिता, सुशासन र जनसहभागिता अपरिहार्य हुने उनले बताए । “सही नेतृत्वले मात्र सही परिणाम दिन सक्छ,” थापाले भने, “त्यसैले आगामी २१ गते सूर्य चिन्हमा मतदान गरी विकास र स्थिरताको पक्षमा निर्णय गर्न आग्रह गर्दछु ।”

चुनावी माहोलसँगै क्षेत्र नं. २ मा राजनीतिक गतिविधि तीव्र बनेका छन् ।  थापा यतिबेला घरदैलो अभियान, भेटघाट र अन्तरक्रिया कार्यक्रममा सक्रिय देखिएका छन् । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्ना योजना र दृष्टिकोण राखिरहेका छन् । स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकसँगको भेटमा उनले उनीहरूको सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।

थापाले लोकतन्त्रको सुन्दर पक्ष भनेको मताधिकार भएको उल्लेख गर्दै विवेकपूर्ण निर्णय गर्न सबैलाई आह्वान गरे । “निर्वाचन लोकतन्त्रको पर्व हो । यसलाई सकारात्मक सोच र विकासको साझा लक्ष्यसहित सफल बनाऔँ,” उनले भने ।

आफूलाई अवसर दिए जनताको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने अठोट व्यक्त गर्दै थापाले पुनः एकपटक सबै मतदातालाई सूर्य चिन्हमा मतदान गरी सही नेतृत्व र सही परिणाम सुनिश्चित गर्न आग्रह गरेका छन् । सिन्धुली क्षेत्र नं. २ का मतदाताले अब आफ्नो भविष्यको दिशानिर्देश गर्ने महत्वपूर्ण निर्णय लिनुपर्ने समय आएको उनले बताएका छन् ।

प्रतिक्रिया