सिन्धुली,१६ फागुन – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) फेरि आन्तरिक विवादको केन्द्रमा परेको छ । सिन्धुली–२ मा बागी उम्मेदवारी दिएको आरोपपछि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका छन् । तर गजुरेलले उक्त निर्णयलाई प्रक्रिया विपरीत र दुराग्रहपूर्ण भन्दै कडा आपत्ति जनाएका छन् ।
गजुरेलका अनुसार निष्कासन पार्टीको अन्तिम कारबाही हो र त्यसअघि स्पष्टीकरण सोध्ने, आवश्यक परे निलम्बन गर्ने जस्ता चरण पूरा गर्नुपर्छ । “ती प्रक्रिया पूरा नगरी गरिएको निर्णय वैधानिक हुँदैन,” उनले भने । उनले आफूविरुद्ध गरिएको कारबाहीलाई आन्तरिक लोकतन्त्र र विधि–पद्धतिको उल्लंघनको रूपमा चित्रित गरेका छन् ।
विवादको जड टिकट वितरण प्रक्रिया भएको गजुरेलको दाबी छ । उनले सिन्धुलीमा जिल्ला कार्यदलले सिफारिस गरेका नामहरूलाई बेवास्ता गर्दै केन्द्रीय तहबाट एकतर्फी निर्णय गरिएको आरोप लगाए । “यो व्यक्तिगत महत्वाकांक्षा होइन, प्रक्रिया र सिद्धान्तको प्रश्न हो,” उनले स्पष्ट पारे । राजनीतिक विश्लेषकहरूका अनुसार नेकपामा टिकट वितरण र आन्तरिक लोकतन्त्रका विषयमा असन्तुष्टि बढ्दै गएको छ, जसको प्रतिफल सिन्धुलीमा देखिएको हो ।
एमालेमा जाने चर्चा अस्वीकार गर्दै गजुरेलले आफू पार्टीभित्रै संघर्ष गर्ने अडान दोहोर्याए । “हामी विभाजनको पक्षमा छैनौँ । नयाँ शक्ति निर्माण गरेर पार्टीलाई सही दिशामा लैजान्छौँ,” उनले भने । उनका अनुसार दीर्घकालीन रूपमा जनाधार विस्तार र संगठन सुदृढीकरण नै उनको रणनीति हो, जसलाई उनले ‘पक्का खेल’को संज्ञा दिएका छन् । “जनतासँग जोडिएको राजनीति, उनीहरूको मुद्दा उठाएर अघि बढ्नु नै पक्का खेल हो,” उनले बताए ।
सिन्धुली–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । गजुरेलले आफ्ना समर्थित उम्मेदवार महेश्वर दाहाललाई अनुभवी, शालीन र स्वच्छ छवि भएका व्यक्तिका रूपमा प्रस्तुत गरे । उनले दाहालको सार्वजनिक चिनारी सीमित रहेको स्वीकार गर्दै कार्यकर्तामाझ राम्रो प्रभाव रहेको दाबी गरे ।
आफ्नो संघर्षलाई उनले महाभारतसँग तुलना गर्दै “सत्य र न्यायको पक्षमा उभिनेहरू अन्ततः विजयी हुन्छन” भने । उनले अझै पनि समझदारीको बाटो खुला रहेको संकेत गर्दै आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता लिए सकारात्मक सन्देश देशभर जाने दाबी गरे । राजनितिक विश्लेषकहरूका अनुसार सिन्धुली–२ को परिणामले गजुरेलको दाबी कत्तिको स्थापित हुन्छ भन्ने स्पष्ट पार्नेछ ।