सिन्धुली,१६ फागुन – पछिल्ला निर्वाचनहरुमा मतदाता सहभागीता क्रमश : घट्दो प्रबृत्तिमा देखिँदै गएको छ । नागरिकहरुको उत्साहमा कमी, राजनीतिक दलप्रतिको अविश्वास र विकल्पहीनताको अनुभुति यस्को प्रमुख समस्याको रुपमा रहेको छ ।
राजनैतिक दल र उम्मेदवारहरुले पटक–पटकका निर्वाचनमा गरेका प्रतिबद्धता पुरा नुहँनु, ठुलो संख्यामा युवाहरुको बिदेश पलायन हुनु, चुनाबी गठबन्धनको राजनीति हुनु र मतदाता शिक्षा कमजोर हुनु जस्ता कारणले मतदाताहरुको सहभागीता घटेको विश्लेषकहरु बताउछन ।
निर्वाचन आयोगको तथ्यांक हेर्नेहो भने नेपालमा मतदान सहभागीताको ग्राफ निरन्तर घट्दै गईरहेको छ । तथ्यांक अनुसार २०७० को निर्वाचनमा दोश्रो संविधानसभा निर्वाचनमा ७८.३४ प्रतिशत, २०७४ मा ६८.६७ प्रतिशत र २०७९ को निर्वाचनमा ६१.४१ प्रतिशतले मतदान गरेका थिए । सिन्धुली जिल्लाको तथ्यांक हेर्ने हो भने पनि मतदानको प्रतिशत घट्दै गईरहेको छ । २०७४ को निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो भने २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ५५ प्रतिशत मत खसेको थियो ।
एकातिर मतदाताको सहभागीता घट्दै गईरहेको छ भने अर्को तर्फ मुख्यत मतदाता शिक्षाको कमी, जटिल मतपत्र र राजनैतिक दलहरुको अपर्याप्त तयारीका कारण निर्वाचनमा ठुलो संख्यामा म तबदर हुने गरेको छ । विशेष गरी छाप गलत ठाउँमा लगाउने, धेरै ठाउँमा मत दिने, वा मतपत्रमा अन्य चिन्ह लगाउने, कारणले बदरमतको प्रतिशत बढ्ने गरेको छ । नेपालमा बिगतका निर्वाचनमा भएको बदरमतको अवस्था हेर्दा भयावह अवस्था छ । २०७४ को संघीय निर्वाचनको प्रत्यक्ष तर्फ औसत ५.१८ प्रतिशत बदर मत रह्यो भने २०७९ को संघीय तथा प्रदेशसभा निर्वाचनमा क्रमश ५ दशमलव ९ र ६ दशमलव ५५ प्रतिशत बदर मत रह्यो । सिन्धुलीमा पनि बदरमतको अवस्था बढ्दो क्रममा नै देखिन्छ । २०७० को दोश्रो संविधानसभा निर्वाचनमा ३.५ प्रतिशत, २०७४ को निर्वाचनमा ४.२ प्रतिशत र २०७९ को प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा ४ प्रतिशत मत बदर भएको थियो । आगामी फाल्गुण २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुल २ लाख १५ हजार १९ मतदाता रहेका छन । २०७९ को निर्वाचन पश्चात झण्डै ७ हजार नयाँ मतदाता थपिएका छन ।
मुख्यत मतदाता शिक्षाको अभाबकै कारण बदर मत बढेको हो । त्यसको अलावा निर्वाचनमा दलहरुबिच गठबन्धनको सस्कृतिले गर्दा मतदाता अलमलिएका छन् । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक हुँदा चारवटा मतपत्रका कारण पनि मतदाताले झन्झट मानेका हुन सक्छन् । अहिले समानुपातिक र प्रत्यक्षको दुई मात्रै मतपत्र हुने भएकाले बदरमत घट्न सक्छ । बिगतको अवस्थाले उल्लेख्य ढंगले बदरमत घट्ने देखिदैन ।
निर्वाचनको कुरा गर्ने बित्तिकै स्वच्छ, निश्पक्ष र भयरहित हुनुपर्छ भन्ने सबैको एउँटै आवाज आउछ । निर्वाचनमा स्वच्छता र शुद्धता ल्याउनका लागि मतदाता शिक्षा महत्वपूर्ण औजार हुन्छ । मतदाता शिक्षित र जागरुक हुँदा मात्रै निवान स्वच्छ हुन्छ । निर्वाचनमा हुने धाँधली नियन्यत्रण हुन्छ । आर्थिक प्रलोभन निश्तेज हुन्छ । निर्वाचनको स्वच्छताको लागी मतदाता शिक्षा अनिवार्य हुन्छ । मतदाता शिक्षामा कमी भएमा नेतृत्व चयनमा गडबडि हुने, मतदान बदर हुने, चाहेको दल वा उम्मेदवार छनौट नभएर अर्कै उम्मेदवार छनौट हुने, आफ्नो मत आफैँ प्रकट गर्न नसक्ने र दल तथा उम्मेदवारलाई प्रश्न गर्न असमर्थ हुने हुन्छ ।
बढ्दो मतदाता सख्या र घट्दो मतदान सहभागीता लोकतन्त्रका लागी चेतावनीको संकेत हो । नागरिकमा निराशा र अविश्वासको संकेत गरिरहेको प्रष्ट बुझ्न सकिन्छ । यसैवीच बदरमतको प्रतिशतले निर्वाचनको गुणस्तर र जनमतको सहि प्रतिनिधित्वलाई पनि चुनौती दिएको छ । समयमै सुधारका कदम नचालिए प्रतिनिधित्वको गुणस्तर र जनविश्वास दवै कमजोर बन्ने जोखिम देखिन्छ । निर्वाचनमा मतदाता शिक्षाको ब्यापक कार्यक्रम, मतदानको सुविधामा सुधार जस्ता कार्यले बदर मत घटाउन र मतदान सहभागीता बढाउन सक्ने संभावना रहेको देखिन्छ ।