बुटवल,१५ फागुन — गगन थापाले देशका जटिल समस्या कुनै एक व्यक्तिको प्रयासले समाधान हुन नसक्ने बताएका छन् । रुपन्देहीको बुटवलमा बिहिवार आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले ‘मैले एक्लै गर्न सक्छु’ भन्ने प्रवृत्तिले मुलुकलाई फेरि दुर्घटनाको दिशातर्फ धकेल्ने चेतावनी दिए ।
सभामा बोल्दै थापाले लोकतन्त्रको मर्म सामूहिक नेतृत्व र सहकार्यमा निहित रहेको उल्लेख गरे । देशलाई सम्हाल्ने जिम्मेवारी नेपाली काँग्रेसले लिन सक्ने दाबी गर्दै उनले विकासको नयाँ युगतर्फ अघि बढ्ने प्रतिबद्धता जनाए । “देश सम्हाल्नु मात्र होइन, सम्हाल्दै गर्दा विकासको नयाँ चरणमा लैजानु हाम्रो लक्ष्य हो,” उनले भने ।
थापाले विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित गर्न नहुने धारणा राखे । उनका अनुसार विकासको अर्थ सडक, पुल र भवन निर्माण मात्र नभई शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र प्रणालीगत सुधारसँग जोडिएको हुन्छ । “समस्याको समाधान एउटा व्यक्ति हो भनेर मान्नु भ्रम हो । जबसम्म बलियो प्रणाली बन्दैन, तबसम्म दीगो विकास सम्भव हुँदैन,” उनले स्पष्ट पारे ।
उनले आगामी पाँच वर्षमा देशले गति समात्ने विश्वास व्यक्त गरे । “देशले गति पकड्छ, ग्यारेन्टीका साथ अघि बढ्छ। गुड्छ, कुद्छ। तर त्यो गति नियन्त्रणबाहिर नजाओस् भन्ने अर्को ग्यारेन्टी पनि चाहिन्छ,” उनले भने । उनका अनुसार काँग्रेसले देशलाई तीव्र गतिमा अघि बढाउनेछ, तर सुझबुझ र सन्तुलनसहित । “हामी स्पिडमा लैजान्छौं, तर हाम्रो गाडी दुर्घटनामा पर्दैन । सबैलाई साथ लिएर अघि बढ्छौं,” उनले जोड दिए ।
थापाले चर्का नारा र भाषणले मात्र परिवर्तन सम्भव नहुने उल्लेख गर्दै सन्तुलित र जिम्मेवार राजनीति आवश्यक रहेको बताए । देशलाई स्थायित्व र विश्वास दिलाउने ताकत नेपाली काँग्रेससँग रहेको दाबी गर्दै उनले कार्यकर्तालाई एकजुट हुन आह्वान गरे ।
साथै उनले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा मात्र सीमित नबस्न आग्रह गरे । घरघरमा पुगेर मतदातालाई बदलिएको काँग्रेसका एजेन्डा र योजनाबारे जानकारी दिन उनले निर्देशन दिए । “सामाजिक सञ्जालमा बहस गर्नु मात्र पर्याप्त हुँदैन। जनतामाझ पुगेर विश्वास जित्नुपर्छ,” उनले भने ।
थापाको भनाइलाई उपस्थित कार्यकर्ताले तालीसहित समर्थन गरेका थिए । चुनावी माहोल तातेका बेला उनको सम्बोधनलाई काँग्रेसको रणनीतिक सन्देशका रूपमा हेरिएको छ ।