शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

निर्वाचनमा निर्णायक बन्दै वैदेशिक रोजगारी पुगेका युवा

देश र छोराछोरीको भविष्य खोज्दै विदेशिएका युवाहरुको परिवार

शुक्रवार , फाल्गुण १५, २०८२

 
सिन्धुली, १५ फागुन - सिन्धुलीको फिक्कल गाउँपालिका–२ की ६५ बर्षिय बिमला सार्की बिहानै मोवाईल समाउँदै छोराको भिडियो कल पर्खिरहेकी हुन्छिन् । मलेसीयामा लेबरको काम गर्ने २६ बर्षिय कमल बहादुर रम्तेलले महिनाको कमाईबाट पठाएको पैसाले घरको ऋण तिर्ने, घरब्यवाहार चलाउने र अधुरो घरको छाना टाल्ने काम भईरहेको छ । तर चुनाब नजिकिदै गर्दा बिमलाको मनमा अर्को हिसाब चलिरहेको छ, छोराले पठाएको रेमिट्यान्सले घर त धानियो, देशले उसलाई किन धान्न् सकेन ? 

“छोरा भोट हाल्न आउन सक्दैन” बिमला भन्छिन, “तर उसकै भविष्यका लागि मैले भोट हाल्नु पर्छ ।” गाउँमा युवाको उपस्थिती पातलो छ । मतदान गर्नेहरु अधिकांश अभिभावक, श्रीमती र हजुरआमा छन । तर बैदेशिक रोजगारीमा पुगेका हरेक युवाको परिवारको मतदानको निर्णयमा मिसिएको हुन्छ विदेशको अनुभव, दुख, पसिना र असुरक्षाको कथा । 

कमलले आमालाई फोनका भनेका छन, “आमा, जस्ले देश र हामी जस्ता गरिब कामदारका कुरा गर्छ, उसैलाई भोट दिनु है ।”उस्ले श्रम सम्झौता, बिमा, बैंकिङ झन्झट र दलालको ठगिबारे आफ्नै भोगाईका कथा परिवारसँग साटेको छ । बिमलाका लागी चुनाब केवल दल र नेता रोज्ने प्रक्रिया मात्र होइन, छोराले भोगेको दुख नदोहोरियोस् भन्ने अपेक्षाको अभिब्यक्ति बनेको छ ।

सिन्धुलीमा यस्ता हजारौं घर छन, जहाँ भान्साको चुलो बिदेशको पसिनाले बल्छ, पटक–पटक देश बदल्न निर्वाचन हुन्छ, युवाहरु मतदान गर्न पाउँदैनन् । उनीहरु बिदेशमा पसिना बगाईरहेका छन तर पनि सुन्दर देश र आफ्नै गाउँको सपना बुनिरहन्छन् । उनीहरुको भविष्य यिनै घरका अभिभावकहरुले गर्ने मतदानमा निर्भर छ । युवा विदेशिए पनि उनीहरुको सपना गाउँमै छ । सुरक्षित रोजगारी, सम्मानजनक श्रम र घर फर्किने अवसर खोजिरहेका छन बैदेशिक रोजगारीमा पुगेका युवाहरु । युवाहरु बिदेशमा बसेर मोवाईलको स्क्रिनमा खोजिरहेका छन, चुनावमा मत माग्न आएका उम्मेदवारहरुको प्रतिबद्धतामा बिदेशका युवाहरुको समस्याको प्रतिनिधित्व कति हुन्छ । 

निर्वाचनमा मत हाल्ने हात गाउँमै छन, तर निर्णयमा मिसिएको छ परदेशको अनुभव र पिडा । कमल  जस्ता युवाको आवाज प्रत्यक्ष मतदानमा नसुनिए पनि उनीहरुको परिवारले गर्ने निर्णयले सिन्धुलीको चुनावी नतिजा तय गर्न सक्छ । 

बिमलाको घर जस्तै सिन्धुलीका हजारौं घरको अर्थतन्त्र वैदेशिक रोजगारीबाट आउने पैसामा टिकेको छ । आफ्नो देशमा रोजगारीको अवसर सिर्जना हुन नसक्दा बाध्यतावंश गाउँका युवाहरु खाडी, मलेसिया कतार लगायतका देशमा पुगेका छन । घरमा बाँकी छन् अभिभावक, श्रीमती र सन्तान मात्र । 

बिदेशकै रेमिट्यान्सले घर बनाउने, ऋण तिर्ने, छोराछोरी पढाउने, स्वास्थ्य उपचार खर्च धान्ने काम भईरहेको छ । स्थानीय आम्दानी भन्दा बैदेशिक कमाई परिवारका लागी ठुलो आधार बन्दै गईरहेको छ । 

नेपालको पछिल्लो राष्ट्रि जनगणना २०७८ अनुसार सिन्धुलीका झण्डै ५० हजार युवा भारत सहित विभिन्न् देशमा रोजगारीका लागी विदेशिएको अनुमान छ । पछिल्लो पाँच वर्षमा मात्र २८ हजार भन्दा बढी सिन्धुलीका युवाहरुले जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिएको तथ्यांक छ । सिन्धुलीका कतिपय गाउँमा एक घरका एकभन्दा बढी सदस्य विदेशमा छन । 

सिन्धुलीको अर्थतन्त्रमा रेमिट्यान्स केवल पैसा होइन, निर्णायक राजनीतिक शक्ति पनि हो । मत हाल्ने हात गाउँमै छन तर मत हाल्ने निर्णय विदेशबाट हुन्छ । विदेशी रेमिट्यान्सले गरेको विकासको उपलब्धी र आशा बाडेर दलहरुले गरिरहेको चुनाबी प्रचारले मतदातालाई सन्तुष्ट बनाउन सकिरहेको छैन । रेमिट्यान्सको भरमा टिकेको समाजलाई कसले दिर्घकालिन बाटो देखाउँछ त्यो कुरा खोजिरहेका छन मतदाताहरु ।
आकर्षक हेडलाइन बनाइ दिनु होला

 

 

प्रतिक्रिया