शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–२ मा मनोजजंग थापाप्रति बढ्दो जनविश्वास

बिहिवार , फाल्गुण १४, २०८२

सिन्धुली,१४ फागुन – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नं. २ मा चुनावी माहोल तातेको छ । नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले बिहिवार कमलामाई नगरपालिका वडा नं. १० अन्तर्गत जाहानटोल, मिलनचोक लगायत आसपासका बस्तीहरूमा सञ्चालन गरेको घरदैलो तथा भेटघाट कार्यक्रमले स्थानीयस्तरमा उत्साहको वातावरण सिर्जना गरेको छ । बिहीबार बिहानदेखि अभियानलाई तीव्रता दिएका थापा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका थिए ।

घरदैलोका क्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाको उपस्थिति देखिएको थियो । विगतमा मत दिएर जिताएका जनप्रतिनिधि फर्केर नआएको, आफ्ना समस्या नसुनेको र विकासका काममा विभेद भएको गुनासो स्थानीयले खुलेर राखेका थिए । खानेपानीको अभाव, कच्ची सडकको स्तरोन्नति, कृषि सिँचाइको व्यवस्था, युवाका लागि रोजगारी सिर्जना, स्वास्थ्य चौकीको सेवा सुदृढीकरण तथा बाढी–पहिरो नियन्त्रणजस्ता विषयमा उनीहरूले उम्मेदवार थापाको ध्यानाकर्षण गराए । विकास निर्माणका काममा दीर्घकालीन योजना र पारदर्शिता आवश्यक रहेको उनीहरूको जोड थियो ।

स्थानीय बासिन्दा आशा माझीले यस पटक भरोसायोग्य उम्मेदवार खोज्ने वातावरण बनेको बताइन् । “पहिले जितेर गएका जनप्रतिनिधि फर्केर आएनन् । समस्या जस्ताको तस्तै रह्यो । यस पटक आफ्नै टोलमा आएर कुरा सुन्ने उम्मेदवारप्रति विश्वास बढेको छ,” उनले भनिन् । उनका अनुसार गाउँमा नयाँ भन्दै कराउनेहरूभन्दा काम गर्ने प्रतिबद्धता जनाउने उम्मेदवारप्रति आकर्षण बढेको छ ।

स्थानीयको गुनासो र सुझाव सुनेपछि उम्मेदवार थापाले जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । “यहाँ उठाइएका प्रत्येक समस्या हाम्रो साझा एजेन्डा हो । खानेपानी, सडक, सिँचाइ र रोजगारीका विषयमा ठोस योजना बनाएर कार्यान्वयनमा लैजानु मेरो प्राथमिकता हुनेछ,” उनले भने । निर्वाचनपछि जनप्रतिनिधि र स्थानीय समुदायबीच समन्वय गरी विकासका कामलाई तीव्रता दिने तथा बजेट विनियोजनमा आवश्यकताका आधारमा न्यायोचित प्राथमिकता दिने उनले आश्वासन दिए ।

थापाले आफू विगतदेखि नै क्षेत्रको विकास निर्माणमा सक्रिय रहेको उल्लेख गर्दै अधुरा योजना पूरा गर्ने र नयाँ आवश्यकता अनुसार कार्यक्रम अघि बढाउने बताए । युवालाई सीपमूलक तालिम र स्वरोजगारसँग जोडेर गाउँमै आयआर्जनको वातावरण सिर्जना गर्ने उनको भनाइ थियो । विपद् जोखिम न्यूनीकरण तथा स्वास्थ्य सेवा पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे ।

कार्यक्रममा वृद्धवृद्धा, महिला र युवाको उल्लेख्य सहभागिता देखिएको थियो । उम्मेदवार थापालाई स्थानीयले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए । घरदैलो अभियानमा एमालेका स्थानीय नेता–कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत सक्रिय रूपमा सहभागी भएका थिए ।

यस क्षेत्रका मरिण, हरिहरपुरगढी, ध्याङलेख र सुनकोशीका भेटघाट कार्यक्रम सम्पन्न गरेर थापा अहिले कमलामाई नगरपालिकामा केन्द्रित भएका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवारहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।

सिन्धुली–२ मा थापा समेत नेपाली काँग्रेसकी उम्मेदवार शुशीला थिङ, रास्वपाका आषिश गजुरेल,नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ तथा सोही पार्टीका बागी उम्मेदवार महेश्वर दाहाल र काँगे्रसका बागी खड्गबहादुर वाइवा लगाएतका चुनावी मैदानमा छन् । विगतको निर्वाचनमा काँंग्रेस–माओवादी गठबन्धनबाट राजन दाहाल २७ हजार मतसहित विजयी हुँदा एमालेका थापाले २१ हजार ७ सय मत प्राप्त गरेका थिए । यस पटक बागी उम्मेदवारीका कारण मत विभाजनको सम्भावनाबीच थापा र कांग्रेसकी थिङबीच मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । स्थानीय स्तरमा मतान्तर फराकिलो हुन सक्ने आँकलनसमेत हुन थालेको छ ।

प्रतिक्रिया