शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई १० मा मनोजजंग थापालाई अग्रिम विजयको शुभकामना

बिहिवार , फाल्गुण १४, २०८२

सिन्धुली,१४ फागुन — नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. १० अन्तर्गत जाहानटोल, मिलनचोक लगायत आसपासका बस्तीहरूमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । चुनावी अभियानलाई तीव्र बनाउँदै थापा बिहिवारबार बिहानैदेखि स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका थिए ।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले थापालाई आगामी निर्वाचनमा विजयी हुने अग्रिम शुभकामना दिँदै गाउँ–टोलका विभिन्न समस्या राखेका थिए । उनीहरूले विशेषगरी खानेपानीको अभाव, कच्ची सडकको स्तरोन्नति, कृषि सिँचाइको व्यवस्था, युवाका लागि रोजगारी सिर्जना, स्वास्थ्य चौकीको सेवा सुदृढीकरण तथा बाढी–पहिरो नियन्त्रणका विषयमा ध्यानाकर्षण गराएका थिए । स्थानीयले विकास निर्माणका काममा दीर्घकालीन योजना र पारदर्शिता आवश्यक रहेको पनि उल्लेख गरेका थिए ।

स्थानियकोे समस्या र सुझावबारे आफ्नो धारणा राख्दै उम्मेदवार थापाले जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । “यहाँका बासिन्दाले उठाउनुभएको प्रत्येक समस्या हाम्रो साझा एजेन्डा हो । खानेपानी, सडक, सिँचाइ र रोजगारीका विषयमा ठोस योजना बनाएर कार्यान्वयनमा लैजानु मेरो प्राथमिकता हुनेछ,” उनले भने । उनले निर्वाचनपछि जनप्रतिनिधि र स्थानीय समुदायबीच समन्वय गरी विकासका कामलाई तीव्रता दिने र बजेट विनियोजनमा न्यायोचित प्राथमिकता कायम गर्ने प्रतिवद्धता जनाए ।

थापाले आफू विगतदेखि नै क्षेत्रका विकास निर्माणमा सक्रिय रहेको उल्लेख गर्दै अधुरा योजना पूरा गर्ने र नयाँ आवश्यकताअनुसार कार्यक्रम अघि बढाउने बताए । “युवालाई सीपमूलक तालिम र स्वरोजगारका अवसरसँग जोडेर गाउँमै आयआर्जनको वातावरण सिर्जना गर्न पहल गर्नेछु,” उनले भने । साथै, विपद् जोखिम न्यूनीकरण र स्वास्थ्य सेवा पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिने उनले स्पष्ट पारे ।

कार्यक्रममा वृद्धवृद्धा, महिला, युवा तथा युवतीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयले फूलमाला र खादा लगाएर उम्मेदवार थापालाई स्वागत गरेका थिए । घरदैलोका क्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरू पनि सहभागी थिए ।

आगामी निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । यसै सन्दर्भमा थापाको वडा नं. १० केन्द्रित अभियानले स्थानीय मतदातामा चुनावी चहलपहल थप बढाएको देखिएको छ ।

प्रतिक्रिया