सिन्धुली,१३ फागुन – हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ भलखडामा आयोजित नेकपा (एमाले) को निर्वाचन प्रचार कार्यक्रमले स्थानीय राजनीतिक माहोल तातेको छ । आसन्न निर्वाचनलाई लक्षित गर्दै बुधवार आयोजना गरिएको कार्यक्रम व्यापक जनसहभागितासहित सम्पन्न भएको एमालेले जनाएको छ । कार्यक्रमको अध्यक्षता देवकृष्ण राईले गरेका थिए भने प्रमुख अतिथिका रूपमा पूर्व केन्द्रीय सदस्य कमलजंग राई तथा अतिथिका रूपमा जिल्ला सचिव नवराज थिङको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन झलक माझीले गरेका थिए ।
गाउँका बासिन्दा, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा आगामी निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउन एकजुट हुन आह्वान गरिएको थियो । वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा स्थिरता, विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको दाबी गर्दै बलियो जनादेशमार्फत पार्टीलाई सशक्त बनाउन आग्रह गर े। उनीहरूले निर्वाचनलाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा नभई जनताको आकांक्षा पूरा गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी पाँच जना स्थानीय अगुवाहरू एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूमा शुक्रबहादुर वाइवा, कुलबहादुर वाइवा, मंगले राई, राजेश्वर राई र दिलबहादुर राई रहेका छन् । उनीहरूलाई प्रमुख अतिथि कमलजंग राई र जिल्ला सचिव नवराज थिङले अविर लगाई स्वागत गरेका थिए । नवप्रवेशीहरूले देशमा राजनीतिक स्थिरता कायम गर्दै विकास र समृद्धिको स्पष्ट दृष्टिकोण अघि सारेको भन्दै एमाले रोजेको बताएका छन ्।
प्रमुख अतिथि कमलजंग राईले संगठन सुदृढीकरण, घरदैलो अभियान र जनतासँग प्रत्यक्ष संवादलाई तीव्र बनाउनुपर्नेमा जोड दिए । उनले जनविश्वास जित्न इमानदार नेतृत्व र स्पष्ट नीति आवश्यक रहेको उल्लेख गरे । जिल्ला सचिव नवराज थिङले एमालेले अघि सारेको विकास, सुशासन र पारदर्शिताको एजेन्डा जनतामाझ लोकप्रिय बन्दै गएको दाबी गर्दै कार्यकर्तालाई सक्रिय र अनुशासित रूपमा चुनावी अभियानमा लाग्न निर्देशन दिए ।
स्थानीय कार्यकर्ताहरूका अनुसार भलखडा टोलसहित आसपासका क्षेत्रमा एमालेप्रति आकर्षण बढ्दो देखिएको छ । नवप्रवेशीसहितको उत्साहपूर्ण उपस्थितिले आगामी निर्वाचनमा पार्टीका पक्षमा सकारात्मक वातावरण निर्माण भएको उनीहरूको भनाइ छ । निर्वाचन नजिकिँदै जाँदा गाउँस्तरमा राजनीतिक चहलपहल अझ तीव्र बन्ने संकेत देखिएको छ ।