शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–१ मा प्रतिष्ठाको भिडन्त

‘लाल किल्ला’ फिर्ता गर्ने दाउमा एमाले, जोगाउन कस्सियो काँग्रेस

मंगलवार , फाल्गुण १२, २०८२


सिन्धुली,१२ फागुन – सिन्धुली क्षेत्र नं. १ यतिबेला केवल सांसद छान्ने प्रतिस्पर्धामा सीमित छैन, प्रतिष्ठाको संग्राममा रूपान्तरित भएको छ । तीन दशकसम्म निरन्तर प्रभाव जमाएको क्षेत्र २०७९ मा गुमाएपछि नेकपा एमाले आफ्नो ‘लाल किल्ला’ फिर्ता गर्ने रणनीतिमा छ भने काँग्रेस एकपटक हात लागेको शक्ति जोगाउन दृढ देखिएको छ । दुवै दलका लागि यो चुनाव हार–जीतभन्दा बढी साखको सवाल बनेको छ ।

२०४८ देखि २०७४ सम्म निरन्तर जित्दै आएको एमाले २०७९ मा पाँचदलीय गठबन्धनसँग रोकिएको थियो । काँग्रेसका श्यामकुमार घिमिरे ३० हजार ३९१ मतसहित विजयी हुँदा एमालेका प्रदीप कटुवाल २५ हजार ५४६ मतमा सीमित भएका थिए । त्यही परिणामले लामो समयदेखि एमालेको प्रभाव रहेको क्षेत्र भत्किएको थियो । एमाले नेताहरू भने त्यसलाई अस्थायी धक्का मात्रै भएको दाबी गर्छन् ।

यसपटक एमालेले फेरि कटुवाललाई नै उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशका स्वास्थ्य मन्त्रीसमेत भइसकेका कटुवाल संगठनमा जमेका नेता मानिन्छन्।  एमालेको तर्क छ,“गठबन्धन नभए परिणाम फरक पर्न सक्छ ।” २०७९ को समानुपातिक मत परिणामलाई आधार मान्दै एमालेले अंकगणित आफ्नै पक्षमा रहेको दाबी गरेको छ । त्यतिबेला समानुपातिकतर्फ एमालेले २२ हजार ३४९ मत ल्याउँदा काँग्रेस १८ हजार २४२ मतमा सीमित थियो भने माओवादी केन्द्रले १२ हजार ३८१ मत पाएको थियो । एमालेको बुझाइमा दलहरू अलग–अलग प्रतिस्पर्धा गर्दा आफ्नो पल्लाभारी हुने आधार देखिन्छ ।

उता काँग्रेसले उज्वलप्रसाद बराललाई अघि सारेको छ । दुई पटक पराजित भइसकेका बराललाई तेस्रो पटक टिकट दिइएको हो । केन्द्रीय सदस्यसमेत रहेका उनी संगठन एकढिक्का बनाउँदै मतदाताको विश्वास पुनः जित्ने अभियानमा छन् । तर अघिल्ला निर्वाचित प्रतिनिधिहरूले गरेका प्रतिबद्धता पूरा नभएको, चुनावपछि गाउँ नफर्किएको र विकासका काममा अपेक्षित सक्रियता नदेखाएको गुनासो अझै मतदातामाझ सुनिन्छ । बरालका लागि चुनाव जित्नुभन्दा पहिले विश्वास जित्नु चुनौती बनेको छ ।

मैदानमा नेकपाका डेकेन्द्रप्रसाद सुवेदी पनि छन् । लामो समय एमाले राजनीतिमा रहेर समाजवादी धार हुँदै अहिले नेकपाबाट उम्मेदवार बनेका उनी ‘विकृति अन्त्य’को नारा लिएर चुनावी मैदानमा छन् । तर उनको राजनीतिक आधार कति दरिलो छ भन्ने प्रश्न खुला छ । पूर्वमाओवादी मत पूर्ण रूपमा उनको पक्षमा जाने सम्भावना न्यून देखिन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले पनि मत विभाजनको समीकरण थप जटिल बनाएको छ ।

सिन्धुली–१ मा यसपटकको प्रतिस्पर्धा अंकगणित, गठबन्धन र जनविश्वासको त्रिकोणमा घुमिरहेको छ । परिणामले केवल प्रतिनिधि होइन, दलहरूको साख र भविष्यको राजनीतिक दिशासमेत निर्धारण गर्नेछ ।

प्रतिक्रिया