सिन्धुली,१२ फागुन — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिन्धुली जिल्लामा आवश्यक तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि आवश्यक प्रत्यक्ष र समानुपातिक दुवै तर्फका मतपत्र सोमबार मध्यान्ह नेपाली सेनाको सुरक्षामा जिल्ला आइपुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ र २ का लागि कुल ४ लाख ३० हजार ३८ मतपत्र जिल्लामा भित्रिएको छ ।
निर्वाचन आयोगले पठाएको विवरणअनुसार सिन्धुलीमा कुल मतदाता संख्या २ लाख १५ हजार १९ रहेको छ । यसमध्ये महिला मतदाता १ लाख ३ हजार ६ सय ९५ र पुरुष मतदाता १ लाख ११ हजार ३ सय २४ रहेका छन् । प्रत्येक मतदाताका लागि प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्र आवश्यक पर्ने भएकाले सोही अनुपातमा मतपत्र पठाइएको जनाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र सुरक्षित रूपमा भण्डारण गरिएको छ । कार्यालयका एक अधिकारीका अनुसार प्रत्येक मतपत्रको प्याकेटमा क्रम संख्या उल्लेख गरिएको छ भने प्रत्यक्ष र समानुपातिक मतपत्र छुट्याउन फरक–फरक रङ प्रयोग गरिएको छ ।
निर्वाचनको व्यवस्थापनलाई प्रभावकारी बनाउन क्षेत्र नं. १ का मतदान केन्द्रमा खटिने कर्मचारीहरूका लागि सोमबार तालिम सञ्चालन गरिएको छ । उक्त तालिममा मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १२४ जना सहभागी भएको बताइएको छ । तालिम कार्यक्रमलाई निर्वाचन कार्यालयले गोप्य राखेको स्रोतले जनाएको छ ।
यसैबीच, निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार जिल्लाभर ३ हजार ४ सय ६० जना सुरक्षाकर्मी परिचालन गरिएको छ । उनका अनुसार नेपाली सेनाबाट कम्तीमा ६ सय ५०, सशस्त्र प्रहरी बलबाट ४ सय ९७ र नेपाल प्रहरीबाट २ हजार २ सय ५९ जना सुरक्षाकर्मी खटिएका छन् । साथै, निर्वाचन प्रहरीसमेत विभिन्न मतदान केन्द्रमा परिचालित छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार सुरक्षाकर्मीको संयुक्त गस्ती जिल्लाका विभिन्न स्थानमा तीव्र पारिएको छ । मतदान केन्द्र तथा संवेदनशील क्षेत्रहरूलाई लक्षित गरी नियमित निगरानी र सूचना संकलन कार्य बढाइएको उनले जानकारी दिए । सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थलगत तथा सवारीसाधनमार्फत गस्ती परिचालन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले निर्वाचनलाई खलल पु¥याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेकी छिन । “यदि कुनै अवाञ्छित गतिविधि देखिएमा शून्य सहनशीलताको नीति अपनाइनेछ,” उनले भनिन, “आवश्यक परे सुरक्षा व्यवस्थालाई थप कडा बनाइनेछ ।”
हालसम्म जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य र नियन्त्रणमै रहेको प्रशासनले जनाएको छ । सुरक्षा निकायहरूबीच निरन्तर समन्वय र सूचना आदानप्रदान भइरहेको छ । सर्वसाधारण मतदातामा सुरक्षा प्रत्याभूति दिलाउन र निर्धक्क रूपमा मतदानमा सहभागी हुन आग्रह गर्दै प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाबी गरेको छ ।
निर्वाचनलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउन प्रशासन, सुरक्षा निकाय तथा निर्वाचन कार्यालयका अधिकारीहरू सक्रिय रूपमा जुटिरहेका छन् । मतपत्रको सुरक्षित व्यवस्थापनदेखि सुरक्षाको सुदृढ तयारीसम्मका कदमले सिन्धुलीमा निर्वाचनको माहोल क्रमशः तातिँदै गएको छ । आगामी फागुन २१ गते हुने मतदानलाई लक्षित गर्दै जिल्लामा तयारी अन्तिम चरणमा पुगेको प्रशासनले जनाएको छ ।