सिन्धुली, ११ फागुन – सिन्धुलीको मरिण गाउँपालिका–७ क्याम्पसचोकस्थित मदनभण्डारी राजमार्गमा बोलेरो गाडीको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएकी छन् । सोमवार दिउँसो करिब १३ः३० बजे हेटौँडाबाट सिन्धुलीतर्फ जाँदै गरेको लु प्रदेश ०१–०० च ३८८१ नम्बरको बोलेरो गाडीले सडक पार गर्दै गरेकी मरिण गाउँपालिका–१ कपिलाकोटडाँडा निवासी अन्दाजी ६१/६२ वर्षीया चण्डी माया वाईबालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकी वाईबाको अवस्था चिन्ताजनक रहेको छ । प्रारम्भिक उपचारका लागि उनलाई तत्कालै स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो १३ः४५ बजे जिल्ला अस्पताल सिन्धुलीतर्फ रेफर गरिएको थियो । जिल्ला अस्पतालमा समेत अवस्था सुधार नदेखिएपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल पठाइएको छ । गम्भीर अवस्थाका कारण उनलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको जनाइएको छ । हाल उनी बोल्न नसक्ने अवस्थामा रहेको अस्पताल स्रोतले जनाएको छ ।
बोलेरो चालक कञ्चनपुरको बेदकोट नगरपालिका–१० निवासी ३६ वर्षीय अमर दत्त पन्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडी र चालकलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा खटिएको टोलीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनापछि केही समय राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो । प्रहरीले चालकविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।