काठमाडौँ,११ फागुन – पछिल्ला तीन सातामा देशका विभिन्न भागमा भएका तीन ठूला सवारी दुर्घटनाले मुलुकलाई स्तब्ध बनाएको छ । माघ २२ देखि फागुन ११ गतेसम्मको अवधिमा भएका दुर्घटनामा ४४ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने दर्जनौँ घाइते भएका छन् । सडक दुर्घटनाको शृंखला बढ्दै जाँदा यसको कारणबारे गम्भीर बहस सुरु भएको छ, तर प्रभावकारी नियन्त्रणका उपाय अझै स्पष्ट देखिएका छैनन् ।
सबैभन्दा पछिल्लो दुर्घटना धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडामा आइतवारराति करिब एक बजे भएको हो । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको पृथ्वी यातायात व्यवसायी समितिको बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खस्दा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई काठमाडौँलगायत विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
यसअघि माघ २२ गते बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । सुपप्र ०२००१ ख १११९ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।
बैतडी दुर्घटनाको पाँच दिन नबित्दै रामेछापको त्रिवेणीघाटमा अर्को बस दुर्घटना भयो । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस माघ २७ गते दुर्घटनाग्रस्त हुँदा १२ जनाको ज्यान गएको थियो भने ८ जना घाइते भएका थिए ।
लगातारका दुर्घटनापछि कारणबारे प्रश्न उठ्न थालेका छन् । प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार दुर्घटनाका प्रमुख कारणमा सडकको अवस्था, सवारी साधनको प्राविधिक कमजोरी र चालकको लापरबाही रहेका छन् । “धादिङको दुर्घटना अनियन्त्रित भएर भएको देखिन्छ । बढ्दो दुर्घटनाबारे हामी विश्लेषण गरिरहेका छौँ,” उनले बताए ।
यातायात क्षेत्रका जानकारहरूका अनुसार पहाडी सडकको जोखिम, ओभरलोड, थकित चालक र कमजोर अनुगमनले दुर्घटना बढाउने प्रमुख कारक हुन् । तर, बारम्बार दोहोरिने यस्ता घटनाबाट पाठ सिकेर दीर्घकालीन सुधारका कदम चाल्न नसक्दा जनधनको क्षति निरन्तर भइरहेको छ ।सरकार र सरोकारवाला निकायले दुर्घटनाको निष्पक्ष छानबिन गरी कडा नियमन, सडक मर्मत र चालक प्रशिक्षणलाई प्राथमिकता नदिएसम्म यस्ता दुःखद घटना दोहोरिन सक्ने चिन्ता बढ्दै गएको छ ।