सिन्धुली, ११ फागुन – मरिण गाउँपालिका–४ साहानस्थित हिमालयन फुड कम्पनीमा चाइनिज र स्थानीय कामदारबीच सोमबार बिहान भएको झडपमा सात जना घाइते भएका छन् । कामबाट निकालिएको विषयलाई लिएर सुरु भएको विवादले झडपको रूप लिएपछि दुवै पक्षका कामदार घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान ८ः४९ बजेतिर मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयमा भनाभन सुरु भएको थियो । भनाभन चर्किंदै जाँदा हातहालाहालको अवस्था सिर्जना भएको बताइएको छ ।
झडपमा घाइते भएका नवराज बम्जनको दाहिने आँखामा र दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै, उदयपुरको कटारी नगरपालिका–१२ का २२ वर्षीय गोकर्ण कटुवालको टाउकोमा चोट लागेको छ ।
कम्पनीमा कार्यरत चिनियाँ नागरिकहरूमध्ये ३८ वर्षीय मिस्टर याङको कान र टाउकोमा चोट लागेको छ भने ४५ वर्षीय याङ हाईबोको बाँया हातमा चोट लागेको छ । त्यसैगरी ४० वर्षीय छ्याङ छोङको छातीमा चोट लागेको छ । ४६ वर्षीय चुजेनको टाउको र मुखमा चोट लागेको छ भने ३१ वर्षीय लेउसेन्सीको टाउकोमा चोट लागी अवस्था मध्यम रहेको प्रशरीले बताएको छ ।
घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याई उपचार भइरहेको छ । घटनापछि कम्पनी परिसरमा केही समय तनावपूर्ण अवस्था रहे पनि प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । हाल दुवै पक्षसँग सोधपुछ भइरहेको र घटनाको कारण तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ । प्रहरीले औद्योगिक क्षेत्रभित्र यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइएको पनि जानकारी दिएको छ ।