सिन्धुली,११ फागुन – जिल्लामा जारी निर्वाचन अभियानका क्रममा पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष सार्वजनिक रूपमा सतहमा आएको छ । जिल्ला कार्यदलले सिफारिस गरेका उम्मेदवार महेश्वर दाहालको चुनावी अभियान अवरोध गर्न खोजिएको आरोपसँगै राजनीतिक माहोल तातेको हो । सुनकोशी गाउँपालिका–मझुवामा चुनावी भेटघाटका लागि पुगेको मुढा चिन्ह लिएर उम्मेदवार बनेका महेश्वार दाहालको टोलीविरुद्ध लेखनाथ दाहाल‘राजनְ’का कार्याकर्ताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेपछि विवादले थप उग्र रूप लिएको छ ।
उक्त घटनापछि जिल्लामा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको वातावरण प्रभावित हुने चिन्ता व्यक्त हुन थालेको छ । सामाजिक सञ्जाल फेसबुकमा लेखिएका चेतावनीपूर्ण स्टाटस र सार्वजनिक भाषणमा दिइएका संकेतले चुनावी अभियान अवरोध गर्ने प्रयास भइरहेको आरोप महेश्वर पक्षको छ । यद्यपि, राजन निकट कार्यकर्ताहरूले भने आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै प्रतिस्पर्धालाई स्वाभाविक राजनीतिक प्रक्रिया बताउँदै आएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको जिल्ला कार्यदलले सिफारिस गरेका महेश्वर दाहालको पक्षमा पूर्वमन्त्री हरिबोल गजुरेल प्रस्तावकका रूपमा छन् भने जिल्ला संयोजक पानीराज बम्जन समर्थक रहेका छन् । जिल्ला इञ्चार्ज तथा उम्मेदवार सिफारिस समितिका अध्यक्ष बसन्त माझी चुनावी कमाण्डरको भूमिकामा सक्रिय छन् । केन्द्रीय सदस्य दीर्घराज श्रेष्ठ र जिल्ला सचिव विनोद विक सहितको टोलीले गाउँ–गाउँमा अभियान तीव्र बनाएको दाबी गरिएको छ ।
स्थानीय तहमा लामो समयदेखि सक्रिय र स्थापित जनाधार भएका नेताका रूपमा चिनिएका महेश्वर दाहालको पक्षमा उल्लेख्य समर्थन देखिएको उनका समर्थकहरूको दाबी छ । तर, क्षेत्र नम्बर १ बाट सिफारिस गरिएका राजन दाहाललाई क्षेत्र नम्बर २ मा ल्याइएको विषयले पार्टीभित्र असन्तुष्टि बढाएको स्रोतहरू बताउँछन् । पार्टी अध्यक्ष प्रचण्ड निकटता र पारिवारिक संरक्षणको चर्चा चलिरहेकै बेला नेतृत्वस्तरमा कारबाहीसमेत भएको घटनाले जिल्लाको राजनीतिक तापक्रम झन् बढाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा आन्तरिक विवादले प्रतिस्पर्धालाई तीव्र बनाएको छ । सरोकारवालाहरूले लोकतान्त्रिक अभ्यासको मर्यादा जोगाउँदै जिम्मेवार ढंगले अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन् । सिन्धुलीको चुनावी परिणाम मात्र होइन, पार्टीभित्रको शक्ति सन्तुलन पनि यस प्रतिस्पर्धाले निर्धारण गर्ने देखिएको छ ।