शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली–२ मा नेकपा उम्मेदवार विवाद चर्किंदै, कारबाही फिर्ता लिन दबाब

आइतवार , फाल्गुण १०, २०८२

 

सिन्धुली,१० फागुन – नेपाली कम्युनिस्ट पार्टीभित्र सिन्धुली क्षेत्र नम्बर २ को उम्मेदवार चयनलाई लिएर थप विवाद चर्किएको छ । क्षेत्र नम्बर १ मा सिफारिस भएका लेखनाथ दाहाल ‘राजन’लाई हठात् प्रचण्डको एकल निर्णयमार्फत क्षेत्र नम्बर २ मा सारिएको विषयले जिल्लाभर बढाएको असन्तुष्टि थप चर्किएको छ ।

यसै सन्दर्भमा हरिबोल गजुरेल, महेश्वर दाहाल, वसन्त माझी र पानीराज बम्जनमाथि कारबाहीको अवस्था सिर्जना भएको हो । जिल्ला तहका कार्यकर्ताहरूका अनुसार उम्मेदवार हेरफेर र त्यसपछि गरिएको अनुशासन कारबाहीको निर्णयले पार्टीभित्र विद्रोहको स्वर बढाएको छ । विभिन्न पालिका र वडामा कार्यकर्ताहरू खुलेर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल सहितका शीर्ष नेताबाट समेत निर्णय पुनर्विचार गर्न दबाब बढेको स्रोतको दाबी छ । उनीहरू निकट नेताहरूले कारबाही फिर्ता लिई मिलन विन्दु खोज्नुपर्ने धारणा अघि सारेका छन् ।

हरिबोल, महेश्वर, वसन्त र पानीराज पक्षका नेताहरूलाई कार्वाही फिर्ता लिएर “प्रत्यक्षतर्फ मुढा र समानुपातिकतर्फ तारा चिन्हमा मत दिँदा पार्टीलाई कुनै क्षति नहुने” तर्क राख्दै कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् । उनीहरू कारबाही फिर्ता लिएर साझा सहमति निर्माण गर्नुपर्ने बताइरहेका छन् ।

जिल्लाका थुप्रै अगुवा कार्यकर्ताले पनि पार्टी पराजयतर्फ नजाने गरी समाधान खोज्न नेतृत्वलाई सुझाव दिएका छन् । “अहिलेको अवस्था टकराव होइन, संवादको हो,” एक जिल्ला सदस्यले भने, “मिलन विन्दु खोजिएन भने परिणाम गम्भीर हुन सक्छ ।”

पार्टीको आधिकारिक उम्मेदवार बनाइएका राजन दाहालको पक्षमा केही जनप्रतिनिधि र सरकारी सेवामा रहेका व्यक्तिबाहेक व्यापक जनसमर्थन नदेखिएको स्थानीय स्रोतहरूको दाबी छ । औपचारिकता निभाउन मात्रै केही नेता कार्यकर्ताहरू प्रचारमा हिँडेको आरोपसमेत लगाइएको छ । कतिपयले भने राजन दाहालले पाउने मत महेश्वर दाहालको तुलनामा निकै कम हुने आँकलन गरेका छन् ।

यता स्वच्छ छवि, वेदागी जीवनशैली र राजनीतिक सुझबुझका कारण महेश्वर दाहाललाई अन्य दलका समर्थकहरूले समेत सकारात्मक रूपमा हेर्ने गरेको देखिन्छ । उनी जित्न सक्ने सम्भावना देखिएकै कारण राजन दाहाललाई उम्मेदवारीबाट फिर्ता लिन उच्च तहमा दबाब बढिरहेको बताइन्छ ।

यसबीच पार्टी अध्यक्ष पुष्पकमल दाहालको पहलमा अघि सारिएका उम्मेदवारभन्दा जिल्लास्तरबाट सिफारिस भई उठाइएका उम्मेदवारको पक्ष बलियो देखिएको बताइन्छ । 

विवाद समाधानका लागि केन्द्रीय तहमा छलफल चलिरहेको जनाइएको छ । आगामी दिनमा कारबाही फिर्ता लिने वा उम्मेदवार पुनर्विचार गर्ने निर्णय भएन भने जिल्लामा थप असन्तुष्टि बढ्ने संकेत देखिएको छ ।

सिन्धुली–२ को यो विवादले चुनावी परिणाम मात्र होइन, पार्टीको आन्तरिक एकतामाथि समेत गम्भीर प्रश्न खडा गरेको विश्लेषकहरूको भनाइ छ । अब नेतृत्वले संवादमार्फत सहमतिको बाटो समात्छ कि टकरावलाई नै निरन्तरता दिन्छ भन्ने कुराले आगामी राजनीतिक दिशा निर्धारण गर्नेछ ।

प्रतिक्रिया