शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा शीर्ष नेताको तस्बिर हरायो, स्थानीय मुद्दा हाबी

शनिवार , फाल्गुण ९, २०८२

सिन्धुली,०९ फागुन – यसपटक सिन्धुलीको चुनावी मैदानमा परम्परागत पार्टीका शीर्ष नेताहरूको तस्बिर र प्रभाव अपेक्षाकृत कम देखिएको छ । विगतका निर्वाचनहरूमा जस्तै प्रमुख नेताहरूको पोस्टर र ब्यानरले बजार र गाउँ ढाक्ने दृश्य यसपटक कम देखिनु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

नेपाली काँग्रेसभित्र  शेरबहादुर देउवालाई पन्छाएर गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको छ । तर सिन्धुलीमा थापाको तस्बिर देखिएको छैन । स्थानीय नेताहरूका अनुसार यसपटक चुनावी अभियान केन्द्रीय अनुहारभन्दा स्थानीय एजेन्डामा केन्द्रित देखिन्छ ।

यस्तै, नेकपा एमालेले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरे पनि जिल्लामा ओलीका पोस्टर र तस्बिर देखिएका छैनन् । एमालेका कार्यकर्ताहरू भने “नेतृत्व स्थापित भइसकेकाले अत्यधिक प्रचार आवश्यक नपरेको” दाबी गर्छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ले पनि आफ्नो अभियानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर अगाडि नबढाएको देखिन्छ । जिल्ला तहमा पार्टीभित्रको विवाद मिलाएर अघि बढ्ने अपेक्षा गरिएका बेला माघ २४ गते हेलिकप्टरमार्फत शीर्ष नेतृत्वको आगमनले परिस्थिति थप जटिल बनेको कतिपय नेता–कार्यकर्ताको मत छ ।

पार्टीभित्र टिकट वितरण र अनुशासनका विषयमा विवाद चर्किएको छ । हरिबोल गजुरेललाई पटक–पटक टिकट दिइएको तर उनले नलिएर बागी उम्मेदवारी दिएको, एक नम्बरमा सिफारिस भएका राजनलाई दुई नम्बरमा हठात ल्याएको विषयमा जिल्लामै असन्तुष्टि रहेको र जिल्ला कार्यालयसँग समन्वय नगरी कार्यक्रम गरिएको थियो । पछिल्लो समय वसन्त माझीलाई नै कार्वाही गरेर परिस्थिति भडकाइएको छ । पुराना, निष्ठावान र जनाधार भएकाहरूलाई हटाएपछि राजन दाहालको  जनाधार खस्कँदै गएको र महेश्वर दाहाल पक्ष बलियो बन्दै गएको छ । 

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टीले बालेनसाहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । केही स्थानमा बालेन र रविको तस्बिर देखिएको छ ।  युवापुस्तामा वैकल्पिक राजनीतिप्रति आकर्षण बढे पनि बालेनसँग सिंहदरबार जल्नुको गम्भीर विषय र सहकारी प्रकरणबारे उठिरहेका प्रश्नका कारण रक्षात्मक बनेको अवस्था छ । युक्रेनलाई खत्तम गर्ने जेलेन्स्की जस्तै यिनीहरूलस पनि खत्तम गर्न सक्छन् भन्दै पुराना राजनीतिक पार्टीहरूको आक्रमणका कारण उनीहरू सिन्धुलीमा रक्षात्मक बनेका छन् ।

स्थानीय विश्लेषकहरूका अनुसार यसपटक सिन्धुलीमा चुनावी प्रतिस्पर्धा “केन्द्रीय अनुहार” भन्दा “स्थानीय सन्तुलन, संगठन र उम्मेदवारको विश्वसनीयता” मा केन्द्रित भएको छ । शीर्ष नेताको तस्बिर नटाँगिनु प्रतीकात्मक मात्र नभई स्थानीय राजनीतिमा स्वायत्त निर्णयको संकेतका रूपमा समेत हेरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा दलहरू आन्तरिक विवाद व्यवस्थापन, कार्यकर्ता परिचालन र मतदाता विश्वास जित्ने रणनीतिमा केन्द्रित भएका छन् । अन्तिम परिणामले केन्द्रीय प्रभावभन्दा स्थानीय समीकरण कति बलियो रहेछ भन्ने स्पष्ट पार्नेछ । 

प्रतिक्रिया