शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा गाली–गलौजको चुनावी यात्रामा दलहरु : नेकपा उम्मेदवार दाहाल अग्रस्थानमा

शनिवार , फाल्गुण ९, २०८२


सिन्धुली,०९ फागुन – निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरुको चुनावी यात्रा मुद्धा, नीति र कार्यक्रमभन्दा बढी आरोप–प्रत्यारोप, गाली गलौज र चरित्रहत्या तिर मोडिँदै गएको देखिन्छ । लोकतान्त्रिक प्रतिस्पर्धाको मुल आधार विचार र एजेण्डा हुनुपर्नेमा अहिले भाषणहरुमा आक्रोश र उक्साहट हाबी हुन थालेको छ । 

नेपालको राजनीतिक अभ्यासमा विगतदेखी नै तीखो भाषाशैली देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालको तिब्र विकाससँगै त्यो झनै आक्रामक बनेको छ । विशेषगरी नेपाली कम्युनिष्ट पार्टी सिन्धुली–२ का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले अन्य दल र दलका नेताहरुलाई गाली गलौज र चरित्रहत्या गरि आचारसंहिताको उल्लंघन गर्दै आईरहेका छन । उनको चुनाबी अभिब्यक्तिलाई लिएर नेकपा(एमाले) सिन्धुलीले विज्ञप्ती मार्फत उनलाई चेतावनीका साथै सम्बन्धीत निकायको ध्यानाकर्षण गराएको थियो । सिन्धुलीमा निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा नेपाली कम्युनिष्ट पार्टी नै अगाडि रहेको निर्वाचन आयोगमा परेको उजुरीले समेत पुष्टी गरेको छ । विशेष गरी लेखनाथ दाहालको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न् टिकाटिप्पणीहरु समेत भईरहेको देख्न सकिन्छ । उनले निर्वाचन प्रचारको क्रममा एमाले र नेतृत्वको बिरुद्ध छुद्र अभिब्यक्ति दिदै आएको एमालेको आरोप छ । उनले बिहिबार निर्वाचन अभियानकै क्रममा घ्याङलेक गाउँपालिकामा आफु सहितको उपस्थितीमा मतदाताले आफ्नो भाषामा सुर्य चिन्ह खोज्दै गर्दा सुर्यको उम्मेदवार नै नरहेको अभिब्यक्ति दिएको भिडियो समेत सार्वजनिक भएको छ । उक्त बिषयले उनले आचारसहित उल्लंघन गरेको गम्भीर बिषय मात्र होइन उनको नियती माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ । यो विषयले उनको सर्वत्र आलोचना भैरहेको छ । 

चुनाब प्रचारको मुल उदेश्य मतदातालाई आफ्ना नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्नु हो । तर अहिले बहस विकास, रोजगारी, शिक्षा स्वास्थ्य र सुशासनका एजेण्डाभन्दा बढी को कति भ्रष्ट, को कति असफल भन्ने प्रतिसप्रर्धामा सिमित देखिन्छ । यस्ले मतदाताहरुलाई सुचना भन्दा भ्रम बढी सिर्जना गरिरहेको छ । 

सामाजिक सञ्जाल फेसबुक, युटुब, टिकटकजस्ता माध्यमले भाषणलाई तुरुन्तै भाइरल बनाउने भएकाले नेताहरु उत्तेजक अभिब्यक्ति दिन प्रोत्साहित हुने गरेका छन । ट्रेन्ड बन्ने लालसाले संयमित राजनीतिक संवादलाई कमजोर बनाउँदै लगिरहेको छ । 

निर्वाचन आचारसंहिताले ब्यक्तिगत आक्रमण, घृणायुक्त अभिब्यक्ति र भ्रामक प्रचारमा रोक लगाएको भएपनि कार्यान्वयनपक्ष कमजोर हुँदा उल्लंघन दोहोरिँदै आएको छ । निगरानी र कारबाही प्रभावकारी नहुँदा गाली गलौज चुनाबी रणनीतिको हिस्सा बन्दै गएको देखिन्छ । 

मतदाता आज बढी सचेत छन । आरोप प्रत्यारोपका भावनात्मक भाषण भन्दा ब्यवाहारिक योजना खोजिरहेका छन । बारम्बार गाली गलौज सुन्दा राजनीतिक दल र उनीहरुको संस्कारप्रति नै बितृष्णा पैदा हुँदै गएको छ । 

चुनाबी उत्सवमा देखिएको गालीगलौज, चरित्रहत्या, आरोप प्रत्यारोपलाई सम्बन्धीत निकायको निगरानी र नियन्त्रणको कमजोरी मात्र नभएर सम्बन्धीत दल र नेताको नियतको प्रश्न हो । निर्वाचनको औपचारिक नियमनको जिम्मेवारी निर्वाचन आयोगसँग छ । आचारसंहिता बनाउने, अनुगमन गर्ने र कार्वाही गर्ने अधिकार उसैसँग छ । तर ब्यवाहारमा हेर्दा अयोगको उपस्थिती भन्दा दल र उम्मेदवारको नियत नै चुनावी संस्कृतिको असली सुचक बनेको छ । कतिपय दलले अराजक भाषणलाई नै भीड तान्ने अस्त्र बनाएका छन । निगरानी र नियन्त्रण गर्ने सयन्त्र सक्रिय भएपनि अफवाह फैलाउनुलाई नै आफ्नो चुनावी जितको रणनीति बनाउन खोज्दा नियमनकारी निकाय पनि प्रभावहिन बन्न् पुगेका छन ।  लोकतन्त्रमा प्रतिसप्रर्धा स्वभाविक हो, तर प्रतिस्पर्धा  बिचारमा हुनुपर्छ, ब्यक्तित्वमा होइन । चुनावी यात्रा यदि मर्यादित र मुद्धाकेन्द्रित बन्न् सकेन भने त्यसले स्वच्छ, भयरहित र शान्त बातावरणमा हुनुपर्ने निर्वाचनलाई अशान्ति र द्धन्द्धमा परिणत गर्ने खतरा बढ्न सक्ने विश्लेषकहरु बताउछन । 

 

प्रतिक्रिया