शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली कमलामाईका नेकपाका २ दर्जन कार्यकर्ता एमालेमा प्रवेश

शनिवार , फाल्गुण ९, २०८२

सिन्धुली,०९ फागुन – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नं. २ को राजनीतिक माहोल थप तातेको छ। यसैक्रममा नेपाली कम्युनिष्ट पार्टीका करिब दुई दर्जन कार्यकर्ताले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूले आफूहरूले पटक–पटक उठाएका स्थानीय समस्या तथा जनचासोका विषयमा निर्वाचित जनप्रतिनिधिहरूले बेवास्ता गरेको आरोप लगाउँदै विकल्प रोज्न बाध्य भएको बताएका छन् ।

क्षेत्र नं. २ अन्तर्गत कमलामाई नगरपालिका फलामेमा आयोजित पार्टी समाहित कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका एमाले उम्मेदवार मनोजंग थापाले नवप्रवेशीहरूलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै उनले विगतका जनप्रतिनिधिहरू चुनाव जितेपछि जनताको बीचमा नफर्किएको गुनासो व्यापक रूपमा आएको उल्लेख गरे । “जनताको मत लिएपछि जनतासँग सम्बन्ध टुट्नु लोकतान्त्रिक संस्कार होइन,” उनले भने, “हामी विकास, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्धलाई प्राथमिकता दिएर काम गर्नेछौं ।”

थापाले क्षेत्र नं. २ विकासका दृष्टिले पछाडि परेको भन्दै अबको निर्वाचनपछि सो अवस्था दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे । सडक, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा देखिएको कमीलाई योजनाबद्ध रूपमा सुधार गर्ने आफ्नो योजना रहेको उनले बताए ।

नवप्रवेशी कार्यकर्ताहरूले विगतमा आफूहरूले साथ दिएको दलले गरेका वाचा पूरा नगरेको भन्दै असन्तुष्टि जनाए। “हामीले विश्वास गरेर जितायौँ, तर समस्या सुनुवाइ भएन,” एक नवप्रवेशी कार्यकर्ताले भने, “त्यसैले यसपटक विकास र जनताको पक्षमा उभिने उम्मेदवारलाई साथ दिने निर्णय गरेका छौँ।” उनीहरूले आगामी निर्वाचनमा सूर्यध्वजावहाक उम्मेदवार थापालाई विजयी गराउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । फलामे लगायत क्षेत्र नं. २ का विभिन्न स्थानमा चुनावी गतिविधि तीव्र बन्दै गएको देखिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा दलहरूबीच कार्यकर्ता तानातान बढेको र मतदातालाई प्रभावित पार्ने प्रयास तीव्र बनेको स्थानीयवासी बताउँछन्। यस घटनाले क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक बन्ने संकेत गरेको छ ।

प्रतिक्रिया