सिन्धुली,०८ फागुन — नेकपा भित्र सिन्धुलीमा उम्मेदवार चयनलाई लिएर देखिएको विवाद झन् चर्किँदै गएको छ । जिल्ला तहको सिफारिसलाई बेवास्ता गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रबाट लेखनाथ दाहाल ‘राजन’ लाई उम्मेदवार बनाउने निर्णय गरेपछि स्थानीय तहमा असन्तुष्टि बढेको हो । विवादले अब पार्टीभित्रै गुटीय ध्रुवीकरण मात्र होइन, पारिवारिक संलग्नताको आरोपसमेत जन्माएको छ ।
जिल्ला कार्यदलले हरिबोल गजुरेलको प्रस्ताव र जिल्ला संयोजक पानीराज बम्जनको समर्थनमा महेश्वर दाहाललाई उम्मेदवार सिफारिस गरेको थियो । स्थानीय नेताहरूका अनुसार संगठनात्मक आधार, सक्रियता र पुरानो योगदानका कारण महेश्वर दाहाल सर्वसम्मतजस्तै अवस्थामा पुगेका थिए । तर केन्द्रले अन्तिम निर्णय उल्ट्याउँदै लेखनाथ दाहाल ‘राजन’लाई अघि बढाएपछि विवाद सतहमा आएको हो ।
केन्द्रको निर्णयपछि जिल्ला नेतृत्व असन्तुष्ट बनेको मात्र होइन, सिफारिस प्रक्रियामा संलग्न गजुरेल, महेश्वर दाहाल, माझी र बम्जनमाथि कारबाहीसमेत गरिएको बताइएको छ । यस कदमलाई धेरै कार्यकर्ताले ‘अनुशासनको नाममा असहमति दबाउने प्रयास’ भन्दै आलोचना गरेका छन् ।
यही पृष्ठभूमिमा प्रचण्डकी छोरी गंगा दाहालका श्रीमान् जीवन आचार्य राजनको पक्षमा खुलेर प्रचारमा उत्रिएका छन् । उनले सामाजिक सञ्जालमार्फत राजनलाई जिताउन मत माग्दै अभियान चलाएका छन् । आचार्यको सक्रियतापछि पार्टीभित्र पारिवारिक प्रभावको बहस थप तीव्र भएको स्थानीय कार्यकर्ताहरू बताउँछन् ।
जिल्ला नेतृत्व भने अझै महेश्वर दाहालको पक्षमा उभिएको दाबी गरिएको छ । स्थानीय नेताहरूका अनुसार पार्टीका करिब ८० प्रतिशत मत महेश्वर दाहालतर्फ जाने आँकलन गरिएको छ । पालिकाका केही निर्वाचित प्रतिनिधि, सुविधा लिएका केही शिक्षक, ठेकेदार तथा कार्यालयमा कार्यरत सीमित कर्मचारीबाहेक राजनको पक्षमा उल्लेख्य समर्थन नदेखिएको दाबी उनीहरूको छ ।
केन्द्रको निर्णय र जिल्ला तहको भावना बीच दूरी बढ्दै जाँदा पार्टी संगठनमै असर पर्ने चिन्ता व्यक्त हुन थालेको छ । एक स्थानीय नेताले भने, “यो चुनाव मात्र होइन, पार्टीको आन्तरिक लोकतन्त्रको परीक्षण हो ।”
उम्मेदवार चयनको विषयले सिन्धुलीमा चुनावी प्रतिस्पर्धाभन्दा बढी संगठनात्मक संघर्षको रूप लिएको छ । परिणाम जस्तोसुकै आए पनि यस विवादले पार्टीभित्रको सम्बन्ध र शक्ति सन्तुलनमा दीर्घकालीन प्रभाव पार्ने आकलन गरिएको छ ।