शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मरिणमा नेकपाका चार दर्जन कार्यकर्ता एमालेमा प्रबेश

शुक्रवार , फाल्गुण ८, २०८२

सिन्धुली,०८ फागुन — आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मरिण गाउँपालिकाको राजनीतिक माहोल तातिएको छ । मरिण गाँउपालिका –३ भालुमारामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी लालमान लो नेतृत्वमा करिब चार दर्जन स्थानीय नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोजजंग थापाले खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार थापाले स्थानीय विकास, रोजगारी र स्थायित्वको राजनीतिलाई केन्द्रमा राखेर एमालेले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जनताको भरोसामाथि उभिएको पार्टी एमाले हो। हामी चुनाव जित्न मात्र होइन, यहाँको सडक, शिक्षा, स्वास्थ्य र युवाको भविष्य निर्माण गर्न आएका हौँ । आजको यो प्रवेश विश्वासको अभिव्यक्ति हो, यसले मरिणको समृद्धिको यात्रा थप बलियो बनाउनेछ ।” नवप्रवेशी लालमान लोले आफूहरू विकास र स्पष्ट नीतिको खोजीमा एमाले रोजेको बताए । उनले भने, “हामीले लामो समयसम्म परिवर्तनको आशा गर्यौँ, तर व्यवहारमा देखेनौँ । गाउँको विकास, युवाको रोजगारी र स्थिर नेतृत्वका लागि एमाले नै सही विकल्प लागेर हामी प्रवेश गरेका हौँ । अब मरिणको भविष्य निर्माणमा हामी सक्रिय भएर लाग्नेछौँ ।” स्थानीय बासिन्दाहरूका अनुसार पछिल्ला दिनमा मरिण क्षेत्रमा एमालेको गतिविधि तीव्र बनेको छ । गाउँ–टोलमा कार्यक्रम, भेटघाट र संगठन विस्तार बढ्दै जाँदा एमालेको उपस्थिति बलियो बन्दै गएको उनीहरूको भनाइ छ । निर्वाचन मिति नजिकिँदै जाँदा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । भालुमाराको यो प्रवेशले मरिण क्षेत्रमा एमालेको संगठनात्मक शक्ति थप सुदृढ भएको स्थानीय विश्लेषकहरूको आकलन छ । आगामी निर्वाचनमा यसको प्रभाव कस्तो पर्नेछ भन्ने चासो स्थानीयस्तरमा बढेको छ ।

प्रतिक्रिया