इतिहासमा धेरै कुरा खोसिदा पनि
बसन्त माझी चुपचाप बस्यो
बसन्त माझीले लडेको पार्टी
महाजनहरूको भैसक्दा समेत
बसन्त माझीले लडेको पार्टीले
विदेशीसँग घुँडा टेक्दा समेत
खै के सोचेर हो ,
बसन्त माझीले औंला ठड्याएन
लुरु लुरु झण्डा बोकेर हिडिरह्यो ।
थुप्रै बनसाङ्लाहरू आए
र घर साङ्लाहरूलाई ढोका बाहिर निकाले
बसन्त माझी केवल हेरेर बस्यो
ऊ एक पटक समानुपाति सभासदसम्म भयो
संसद र युध्द मोर्चामा के कति फरक पायो ?
संसदको मोर्चामा घुरेर बस्यो
या जोडतोडले लड्यो
दुनियाँलाई खास थाहा भएन
खसीको टाउको देखाएर
कुकुरको मासु बेच्ने व्यवसायमा
सोझो माझीको छोरो
सायद खास खुसी भएन होला
सूत्रहरू त्यसै भन्छन !
***
बिग्रेको जाँड भैसकेको पार्टीलाई
सुधारेर क्रान्तिकारी बनाउने भनेर
ऊ कैयन पटक डेलिगेसन आयो
कमरेड पर्चन्नलाई भेट्टायो
र आश्वासनको पोको बोकेर फर्कियो ।
तर बिग्रेको जाँड खाइसाध्य थिएन
अझ बिग्रियो/अझ कुहियो
तर बसन्त माझीले मायाँ मारेन !
यस्तै यस्तै हिउँद बर्खाहरू पार गर्दा गर्दै
बयासीको चुनाव आयो
माननीयको टिकट दिनु पर्ने नाम
सिफारिस गरी पठाउने आदेश थियो माथिको
थरी थरीका दवाब र प्रभावहरू थिए
दाउपेचहरू थिए/ छलछामहरू थिए
ऊसले जुन जुन नाम
जुन क्रममा सिफारिस गर्यो
र ढुक्क भएर सुत्यो
अन्तमा भनेजस्तो भएन
अर्थोकै केही भयो
जे हुनेवाला थियो त्यही भयो
यो व्यवस्थाको आचरणसँग
जो फिट खान्थ्यो त्यही भयो
यो व्यवस्थाको अनुहारसँग
जसको डिएनए मिल्थ्यो त्यही भयो
हुनलाई अनौठो केही भएको थिएन
सामान्य प्रकृया मिचिएको मात्रै थियो
कत्रा कत्रा कुरा मिचिएको दलमा
ससानो प्रकृया मिचिनु
लालदरवारले रुचाएको मान्छे छानिनु
र अरु निछोटिनु
एकदमै स्वाभाविक र सामान्य थियो
यस्ता मिचमाच कति भएका थिए भएका थिए
तर बसन्त माझीलाई त्यो चित्त बुझेन
बसन्त जस्तै अरु
मरुभूमिमा समुद्र खोज्नेहरूलाई पनि मन परेन
र उनीहरूले "विद्रोह" गरे !
बसन्त माझी
र अरु अरु थुप्रै मिलेर 'विद्रोह' गरे
पर्चन्न सरले लाख सम्झाई बुझाइ गरे
अहँ कोही टसकोमस भएन
आफू जस्तै केही थान साथी बटुलेर
बसन्त माझी गाउँ गाउँ हिडेको छ
यस पालीको प्रत्यक्ष तर्फको भोट मुढामा
समानुपातिकको भोट चै तारामा
ऊ यसो भन्दै भोट माग्दै छ
बिचरा अझै तारामा एक भोट माग्न छोडेको छैन !
उसले यस पटक जुन जोखिम उठायो
त्यस जोखिमले भन्छ
तारा पार्टीमा अब
अब बसन्त माझी दुई दिनको पाहुना हो
तर बसन्त यो कुरा मान्न तयार छैन
ठाइँला बाजेले पनि छोड्नु हुन्न भन्नु भा छ
बाजे कामरेड पनि कस्सिएका छन्
लाटो रिस उठेको छ ठाइँला बाजे कमरेडलाई
पर्चन्नलाई ठेगान लगाएर छोड्छु
यसो भन्छन रे ठाइँला बाजे कमरेड अचेल
तर म सोचिरहेछु
बसन्त माझीहरूको इमान्दारिता ,
ठाइँला बाजेहरूको पध्दतिको चिन्ता
र महेश्वरहरूको सोझो पन
घाँडो भैसकेको छ तारा पार्टीलाई
चाँडै उनीहरू निकालिने छन त्यहाँबाट ।
म सोचिरहेको छु
त्यस पछि बसन्त माझीहरू के गर्लान ?
उनीहरूको विद्रोह कहाँ पुग्ला ?
बिद्रोही बसन्त भएरै मर्लान कि उनी
या आत्मसमर्पण गरेर जुनी काट्लान ?
मेरो शुभकामना छ
बसन्त माझीहरूको विद्रोह
केवल चुनाबको बेला उठ्ने
र चुनाव पछि थन्किने
एउटा निरिह रोइलो नबनोस
एउटा शानदार विद्रोह बनोस !