सिन्धुली,०७ फागुन – मरिण गाउँपालिका वडा नं. १ मदुबनी र मान्द्रे क्षेत्रमा नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका छन् । संग्राम सिंह बलसहित एक दर्जन नेता–कार्यकर्ता बिहीबार सिन्धुली क्षेत्र नं. २ का एमाले उम्मेदवार मनोजजंग थापाको ‘जनतासँग भेटघाट तथा संवाद’ कार्यक्रममा एमालेमा आबद्ध भएका हुन् ।
कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार थापाले जनताको चाहना र विकासको एजेण्डाले आफूहरूलाई एकताबद्ध बनाएको बताए । उनले भने, “राजनीति पदका लागि होइन, जनताको जीवनस्तर सुधारका लागि हुनुपर्छ । मरिणका नागरिकले परिवर्तन चाहेका छन्, त्यसैले विकास र सुशासनको अभियानमा सबैलाई साथ लिएर अघि बढ्नेछौं ।” उनले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान आफ्नो प्राथमिकता रहने उल्लेख गरे ।
नवप्रवेशी नेता संग्राम सिंह बलले जनअपेक्षा पूरा हुन नसक्दा पार्टी छाड्नु परेको बताए । उनले भने, “हामीले लामो समयसम्म परिवर्तनको आशा गर्यौं, तर स्थानीय तहमा जनताको समस्या सम्बोधन हुन सकेन । अब विकासमुखी सोच र स्पष्ट योजनाका कारण एमाले रोजेका हौं । यहाँ आएर जनताको पक्षमा काम गर्ने विश्वास लिएका छौं ।”
उक्त कार्यक्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, सिँचाइ अभाव, बेरोजगारी, स्वास्थ्य चौकीको सेवा विस्तार तथा विद्यालय पूर्वाधार सुधारलगायतका समस्या उम्मेदवार थापा समक्ष राखेका थिए । जवाफमा थापाले निर्वाचनपछि योजनाबद्ध रूपमा समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “यहाँका समस्या सुनेपछि स्पष्ट भयो कि अब काम गर्ने नेतृत्व आवश्यक छ । बजेटको उचित व्यवस्थापन र जनसहभागिताबाट मरिणलाई नमुना गाउँपालिका बनाउने लक्ष्य लिएका छौं ।”
भेटघाट कार्यक्रममा स्थानीय वृद्धवृद्धा, महिला तथा युवाको बाक्लो सहभागिता रहेको थियो । सहभागीहरूले प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्न पाएकोमा खुसी व्यक्त गर्दै समाधान हुनेमा विश्वास व्यक्त गरे । स्थानीय तहमा राजनीतिक समीकरण फेरिन थालेको संकेत दिँदै मरिणमा भएको यो प्रवेश कार्यक्रमले आगामी निर्वाचनको प्रतिस्पर्धालाई थप रोचक बनाएको स्थानीयवासीको भनाइ छ ।