सिन्धुली, ०५ फागुन — मरिण गाउँपालिकामा स्थानीय निर्वाचनको माहोल तीव्र बन्दै जाँदा स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले बुधबार आफ्नो चुनाव प्रचार कार्यालय स्थापना गरेका छन् । तत्कालीन माओवादीमा लामो समय राजनीति गरेका दाहाल यसपटक विद्रोही रूपमा स्वतन्त्र उम्मेदवार बनेर मैदानमा उत्रिएका हुन् ।
कार्यालय उदघाटन कार्यक्रममा बोल्दै दाहालले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा गलत प्रवृत्तिविरुद्धको अभियान भएको बताएका छन् । उनले भने, “माओवादी विशेष रूपान्तरण अभियानका क्रममा सिन्धुलीको गाउँगाउँ पुग्दा पार्टीभित्र केही भ्रष्टाचारी र व्यभिचारीलाई माथिबाटै संरक्षण गरिएको देखेँ । स्थानीय तहमा टिकट बाँड्दा सामाजिक रूपमा बदनाम व्यक्तिहरूलाई समेत अगाडि सारिएको अवस्था पाएँ । यसले इमानदार कार्यकर्ता र स्वाभिमानी राजनीतिलाई कमजोर बनायो ।”
उनले राजनीतिक शुद्धीकरणका लागि ‘पब्लिक अडिट’ आवश्यक रहेको उल्लेख गर्दै पद र पहुँचको आडमा कसैले पनि कानुनभन्दा माथि बस्न नपाउने स्पष्ट धारणा राखे । “राजनीति जनताको विश्वासबाट चल्छ, भय र प्रभावबाट होइन । पार्टीभित्र लुकेर अपराध गर्नेहरूलाई कडा कारबाही हुनुपर्छ भन्ने मेरो हिजोको पनि अडान थियो, आज पनि उस्तै छ,” दाहालले भने ।
नेकपा सिन्धुलीका इन्चार्ज बुद्विमान माझी ‘बशन्त’ ले दाहालको कदमलाई ‘अन्तरदृष्टि र आत्मसमिक्षाको संकेत’ भन्दै संगठनभित्र देखिएका कमजोरी सुधार्न सबै पक्षले ध्यान दिनुपर्ने बताए । जिल्ला संयोजक पनिराज बम्जनले पनि प्रतिस्पर्धा स्वस्थ भए मात्रै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै जनताको विश्वास जित्ने राजनीति आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा उपस्थित स्थानीय कार्यकर्ताहरूले दाहालको उम्मेदवारीले पार्टी र समाज दुवैलाई सुधारको दिशामा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनीहरूले विकास, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राखेर अघि बढ्ने उम्मेदवारलाई जनताले साथ दिने बताएका थिए ।
मरिण गाउँपालिकामा चुनावी सरगर्मी बढ्दै जाँदा दाहालको स्वतन्त्र उम्मेदवारीलाई ‘विद्रोह मात्र होइन, सुधारको संकेत’का रूपमा हेरिएको छ । स्थानीयस्तरमा सुशासन, पारदर्शिता र इमानदार नेतृत्वको बहस सुरु गराउँदै उनले चुनावी प्रतिस्पर्धालाई नयाँ मोड दिएको राजनीतिक वृत्तले जनाएको छ ।