सिन्धुली,०६ फागुन – सिन्धुली क्षेत्र नं. २ का नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार मनोजंग थापाले चुनावी अभियानलाई तीव्र बनाएका छन् । बुधवार मरिण गाउँपालिका वडा नं. ७ को एकान्त कुना, जयमंगल, वडा नं. ५ को चौकी, अम्बास, चिसापानी र सुनखानी हुँदै घाटा क्षेत्रका बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरिएको हो ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, खानेपानी अभाव, कृषि उत्पादनको बजारीकरण, बेरोजगारी, शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच लगायतका समस्याहरू उम्मेदवार थापासमक्ष राखेका थिए । विशेषगरी दुर्गम बस्तीका नागरिकहरूले वर्षौँदेखि आधारभूत पूर्वाधार नपुगेको गुनासो गर्दै निर्वाचित प्रतिनिधिहरू चुनावपछि हराउने गरेको भन्दै स्थायी समाधानको माग गरेका थिए ।
स्थानीय वृद्ध धनबहादुर तामाङले भने, “चुनावको बेला नेता धेरै आउँछन्, तर समस्या समाधान हुँदैन । यसपालि काम गर्ने मान्छे चाहिन्छ ।” त्यस्तै युवाहरूले रोजगारी र सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए ।
जनताको गुनासो सुनेपछि उम्मेदवार थापाले विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जनताको समस्या नै मेरो चुनावी एजेन्डा हो । सडक, स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकता दिई योजनाबद्ध ढङ्गले विकास गर्छु । निर्वाचन जितेपछि गाउँमै पुगेर काम गर्नेछु ।” उनले दीर्घकालीन विकासका लागि स्थानीय उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, कृषि आधुनिकीकरण र युवा रोजगारी सिर्जनामा विशेष ध्यान दिने बताए ।
थापाले विगतमा सुरु भएका योजनाहरू अधुरा रहेको उल्लेख गर्दै समन्वयको अभावका कारण विकास रोकिएको दाबी गरे । “राजनीति भाषणका लागि होइन, परिणामका लागि हुनुपर्छ । जनताले विश्वास गरे भने पाँच वर्षभित्र परिवर्तन अनुभूत गराउने गरी काम गर्नेछु,” उनले थपे ।
भेटघाट कार्यक्रममा स्थानीय नागरिकको उल्लेख्य सहभागिता देखिएको थियो । महिलाहरूले स्वास्थ्य चौकीमा औषधि अभाव र प्रसूति सेवाको समस्या उठाएका थिए भने किसानहरूले सिँचाइ व्यवस्थापन र मल–बीउ सहज उपलब्ध गराउन माग गरेका थिए ।
कार्यक्रममा स्थानीयहरू उत्साहित देखिएका थिए । गाउँबस्तीमा पहिलो पटक उम्मेदवारले लामो समय बसेर संवाद गरेको भन्दै धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् । एमालेको चुनावी अभियान अब थप गाउँ केन्द्रित हुने नेताहरूले बताएका छन् । यस क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको अवस्थामा थापाको सक्रिय घरदैलो अभियानले मतदाताको ध्यान तानेको देखिन्छ ।