सिन्धुली,०६ फागुन — जिल्लाको मरिण गाउँपालिका–२ शिखर तिनघरमा एक शिशुको घरमै डुबेर मृत्यु भएको दुःखद घटना सार्वजनिक भएको छ । स्थानीय अक्कल बहादुर वाईबाका करिब ९÷१० महिनाका छोरा सुक्के वाईबा कपडा धुने प्रयोजनका लागि बाल्टिनमा राखिएको पानीमा डुबेर गम्भीर घाइते भई उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिज्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार बुधवार बिहान करिब ८ बजे घरपरिवारका सदस्यहरू अन्य काममा व्यस्त रहेका बेला बाल्टिनमा पानी राखिएको अवस्थामा शिशु अचानक डुबेको अवस्थामा फेला परेका थिए । तत्काल परिवारले उनलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट लगेको थियो । स्वास्थ्य केन्द्र पु¥याउँदा चिकित्सकले उपचार प्रयास गरे पनि बिहान ११ बजे शिशुलाई मृत घोषणा गरिएको प्रहरीले बताएको छ ।
घटनाबारे स्वास्थ्य केन्द्रबाट बिहान ११ः२२ बजे इलाका प्रहरी कार्यालय कपिलाकोटमा जानकारी पुगेपछि प्रहरी निरीक्षक अशोक कुमार यादवको कमाण्डमा मुचुल्का सहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीको भनाई छ । प्रहरीले घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
स्थानीय बासिन्दाले बालबालिका सम्बन्धी सुरक्षा सचेतना अभावका कारण यस्ता घटनाहरू दोहोरिने गरेको बताउँदै घरभित्रै रहेका सामान्य जोखिमप्रति अभिभावकहरू सचेत हुनुपर्ने बताएका छन् । चिकित्सकहरूले साना बालबालिकालाई केही सेकेन्डको लापरबाहीले पनि ज्यान जाने खतरा रहने भन्दै पानी, आगो र विद्युत् नजिक एक्लै नछोड्न अभिभावकलाई आग्रह गरेका छन् । प्रहरीले अभिभावक तथा समुदायलाई बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेको छ ।