शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

निर्वाचन नजिकिदै जाँदा सिन्धुलीमा दल परिवर्तनको लहर

बुधवार , फाल्गुण ६, २०८२

सिन्धुली ,०६ फागुन – प्रतिनिधिसभाको निर्वाचन नजिकिदै जाँदा राजनीतिक दलहरुभित्र पार्टी परित्याग र प्रवेशको श्रृखला तीब्र बन्दै गएको छ । उम्मेदवारी दर्तासँगै निर्वाचन प्रचार–प्रसारमा गाउँ–गाउँ पुगेका राजनैतिक दल र उम्मेदवारहरुले गाउँ तहका कार्यकर्ताहरुलाई पार्टी प्रवेश पनि गराईरहेका छन ।

आन्तरिक असन्तोष र दल र नेतृत्व प्रतिको बितृष्णाको कारण असन्तुष्ट नेता कार्यकर्ताहरुले पार्टी छोड्ने क्रम बढेको देखिन्छ । चुनावी सरगर्मी बढ्दै जाँदा विचार, शिद्धान्त र निष्ठाको आधारमा भन्दा पनि आफ्नो मत बढाउने उदेश्यले पार्टी प्रवेशको लहर सिर्जना गर्ने गरिएको छ ।

निर्वाचनमा टिकट बितरण, जित्ने संभावनाको गणित, आन्तरिक लोकतन्त्रको अभाव, स्थानीय शक्ति शन्तुलन जस्ता कारणले आफ्नो पुरानो दल परित्याग गरेर नयाँ दलमा प्रवेश गर्ने प्रबृत्ति बढेको देखिन्छ । सिन्धुलीमा चुनावी प्रतिसप्रर्धामा रहेका मुख्यत नेकपा(एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी प्रवेशको श्रृखला चलाईरहेका छन । पार्टी प्रवेशमा आश्वासन र दल र उम्मेदवार प्रतिको आशा दुवै रहेको देखिन्छ ।

चुनाबको मुखमा तल्लो तहका नेता कार्यकर्ता अन्य पार्टीमा प्रवेश गर्दा संगठनात्मक संरचना कमजोर हुने, मतदातामा भ्रम सिर्जना हुने, सिद्धान्त भन्दा स्वार्थ हाबि हुने समस्या दलहरुको लागी चुनौती बन्दै गएको देखिन्छ ।

सिन्धुलीमा अघिल्ला निर्वाचनहरुमा पनि यस्तै प्रबृत्ति देखिएको थियो । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने वा विपक्षि दलमा प्रवेश गर्ने क्रम नयाँ होइन तर यसपटक सामाजिक सञ्जालको तीब्र प्रयोगका कारण यस्ता घटनाहरु झन छिटो सार्वजनिक भईरहेका छन । जस्ले चुनावी माहोललाई थप तरंगित बनाएको छ । निर्वाचनको पुर्वसन्ध्यामा देखिने दल परिवर्तनको लहरले राजनीतिक निष्ठा र संगठनात्मक सस्कृतिमाथी भने प्रश्न सिर्जना गरेको छ ।

 

प्रतिक्रिया