सिन्धुली,०५ फागुन – आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाप्रति जनसमर्थन बढ्दै गएको देखिएको छ । मंगलबार मरिण गाउँपालिका–३ भालुमारा आयोजित कार्यक्रममा पूर्व वडा जनसकार प्रमुख मंगल माझीसहित करिब ३० जना नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै उम्मेदवार थापाले पार्टीमा आउनेहरूलाई सम्मान र जिम्मेवारी दुवै प्रदान गरिने बताए । उनले स्थानीय विकास र जनताको जीवनस्तर सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएको उल्लेख गर्दै भने, “हामी नारामा होइन काममा विश्वास गर्छौँ । क्षेत्रका सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्ने स्पष्ट योजनासहित चुनावमा होमिएका छौँ । एमाले सरकार आएपछि यहाँका युवाले बाहिरिनु पर्ने बाध्यता अन्त्य हुन्छ ।”
एमालेमा प्रवेश गर्दै मंगल माझीले विगतमा गरेका राजनीतिक यात्राबाट जनताले अपेक्षित उपलब्धि नपाएको अनुभव सुनाए । उनले भने, “हामीले विकास र स्थिर नेतृत्व खोजिरहेका थियौँ । जनताको काम गर्ने शक्ति एमालेसँग रहेको महसुस गरेर पार्टी प्रवेश गरेका हौँ । अब गाउँ–टोलको समस्या समाधानका लागि सक्रिय भएर काम गर्नेछौँ ।”
यसैबीच मंगलबारनै उम्मेदवार थापाले हरिहरपुरगढी गाउँपालिका–८ क्यानेश्वरमा स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । कार्यक्रममा स्थानीयले खानेपानी अभाव, कच्ची सडक, कृषि उत्पादनको बजार अभाव, स्वास्थ्य सेवाको पहुँच र युवाको बेरोजगारी लगायत समस्या उठाएका थिए ।
जनताको गुनासा सुनेपछि थापाले प्राथमिकताका आधारमा समाधान गरिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सबैभन्दा पहिला आधारभूत आवश्यकता पूरा गरिन्छ । खानेपानी, सडक र स्वास्थ्य केन्द्रलाई पहिलो प्राथमिकता दिन्छु । त्यसपछि कृषि उत्पादनलाई बजारसँग जोडेर आम्दानी बढाउने कार्यक्रम ल्याउँछु ।”
उम्मेदवारसँग प्रत्यक्ष भेटेर आफ्ना समस्या राख्न पाएकोमा स्थानीयहरू उत्साहित देखिएका थिए । उनीहरूले थापाले आफ्ना समस्या समाधान गर्ने विश्वास व्यक्त गर्दै अग्रिम बिजय शुभकामना दिएका थिए ।
स्थानीय तहदेखि संघीय संसदसम्म समन्वय गरी विकास अघि बढाउने प्रतिबद्धतासहित थापाले चुनावी अभियान तीव्र पारेका छन् । पछिल्ला दिनहरूमा विभिन्न दलका कार्यकर्ता तथा समर्थकहरू एमाले प्रवेश गर्ने क्रम बढेसँगै क्षेत्र नम्बर २ मा चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ ।