सिन्धुली,०४ फागुन – आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजजंग थापाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् । अभियानअन्तर्गत सोमबार उनले सुनकोशी गाउँपालिकाका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
थापाले सोमवार सुनकोशी गाँउपालिका डाँडा मगरटोल, कोडगाउँ,बन्दिपुर, कामिछाप, थापाथुम्का, लिट्टेभन्ज्याङ, ओडारे, अमारे भन्ज्याङ, डाँडा नेवार बारी र चैनपुरका मतदातासँग घरदैलो कार्यक्रम सञ्चालन गर्दै जनताको गुनासा सुनेका थिए । बिहानैदेखि सुरु भएको भेटघाट साँझ अबेरसम्म जारी रहँदा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो ।
भेटघाटका क्रममा मतदाताहरूले खानेपानीको अभाव, ग्रामीण सडकको दयनीय अवस्था, स्वास्थ्य सेवा पहुँचमा कठिनाइ, बेरोजगारी, कृषिमा बजार अभाव, वृद्धभत्ता वितरणको अनियमितता तथा शिक्षण संस्थामा जनशक्ति अभावजस्ता आफ्ना विविध समस्या उम्मेदवार थापासमक्ष प्रस्तुत गरेका थिए । विशेषगरी ग्रामीण भेगमा सडक स्तरोन्नति र स्वास्थ्य चौकी सुदृढीकरणको माग धेरै स्थानमा उठेको स्थानीयले बताएका छन् ।
मतदाताका गुनासा सुनेपछि थापाले समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “म जनताको सेवकको रूपमा राजनीतिमा आएको हुँ । यहाँ उठेका हरेक समस्यालाई म व्यक्तिगत जिम्मेवारीका रूपमा लिन्छु । निर्वाचनपछि पनि यो सम्बन्ध निरन्तर रहनेछ, जनताको काम अधुरो रहन दिइने छैन ।”
उनले ग्रामीण विकास, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताए । “सडक, स्वास्थ्य, शिक्षा र रोजगारी—यी चार विषयमा केन्द्रित भएर काम गर्ने मेरो स्पष्ट योजना छ । योजनाबद्ध ढंगले काम गरे मात्रै गाउँको जीवनस्तर परिवर्तन हुन्छ,” उनले थपे ।
थापाले स्थानीय युवालाई लक्षित गर्दै उद्यमशीलता विकास कार्यक्रम ल्याउने, कृषकलाई उत्पादनअनुसारको बजार सुनिश्चित गर्ने तथा सिंचाइ विस्तारलाई प्राथमिकता दिने प्रतिवद्धता जनाए । उनले राज्यको बजेट सही ठाउँमा खर्च भए मात्रै विकास सम्भव हुने उल्लेख गर्दै जनताको सहभागितामूलक विकास मोडेल अपनाउने बताए ।
घरदैलो कार्यक्रममा सहभागी वृद्धवृद्धा, महिला, युवा तथा समाजसेवीहरूले थापाप्रति विश्वास व्यक्त गरेका थिए । स्थानीय अगुवाहरुले भने, “हामीले धेरै नेता देख्यौँ तर यसपटक गाउँमै आएर समस्या सुन्ने शैली फरक लाग्यो। काम गर्ने विश्वास देखिएको छ ।”
त्यस्तै महिला समूहकी प्रतिनिधिहरुले गाउँमा स्वास्थ्य सेवा र सुरक्षित सडकको आवश्यकता औँल्याउँदै थापाले जितेपछि काम अघि बढ्ने अपेक्षा व्यक्त गरे । “हामीलाई भाषण होइन, काम चाहिएको हो । उहाँले काम गर्ने कुरा गर्नुभएको छ, त्यसैले समर्थन गरेका हौँ,” उनि हरुले भने ।
युवा समूहका सदस्यहरूले रोजगारी सिर्जना र सीपमूलक तालिमको माग राख्दै स्थानीयस्तरमै अवसर उपलब्ध गराउन आग्रह गरेका थिए । उनीहरूले थापाको जित सुनिश्चित रहेको दाबी गर्दै अग्रिम शुभकामना समेत दिएका छन् ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको बाक्लो उपस्थिति रहेको थियो । उनीहरूले चुनावी अभियानलाई गाउँस्तरमै केन्द्रित गरेर अघि बढाइएको बताएका छन् । स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै थापाले निर्वाचनपछि पनि नियमित रूपमा गाउँमै पुगेर प्रगति समीक्षा गर्ने वाचा गरेका छन् । “निर्वाचनपछि नेताहरू हराउने परम्परा अन्त्य गर्नुपर्छ । म जनताको बीचमै रहनेछु,” उनले दोहो¥याए ।
सुनकोशी गाउँपालिकाका बस्तीहरूमा गरिएको यस घरदैलो कार्यक्रमले चुनावी माहोल थप तातेको स्थानीयहरूले बताएका छन् । ग्रामीण भेगमा उम्मेदवारको प्रत्यक्ष उपस्थितिले मतदातामा उत्साह बढाएको देखिएको छ । चुनावी अभियानलाई आगामी दिनमा अन्य पालिकाको वडाहरूमा विस्तार गर्ने तयारी गरिएको थापाको सचिवालयले जनाएको छ ।