शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

फरार मेयर : दुधौलीकी बालिका न्याय अझै कुर्दै

शनिवार , फाल्गुण २, २०८२

सिन्धुली,०२ फागुन — प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेताहरू मतदाताको घरदैलोमा पुगेर विकासका सपना बाँडिरहेका छन् । तर, राजनीतिक भाषण र चुनावी आश्वासनको भीडबीच सिन्धुलीको दुधौली नगरपालिकामा घटेको एक गम्भीर अपराधको घटना अझै न्यायको प्रतीक्षामा छ । करिब एक वर्षदेखि बलात्कार आरोपमा फरार रहेका नगरप्रमुख दिनेश अधिकारीको प्रकरणले चुनावी नैतिकतामाथि गहिरो प्रश्न खडा गरेको छ ।

जिल्लाकै एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि अधिकारीविरुद्ध अनुसन्धान सुरु गरिएको थियो । तर मुद्दा दर्ता भएदेखि उनी सार्वजनिक जिम्मेवारी उपप्रमुखलाई सुम्पेर सम्पर्कविहीन बनेका छन् । प्रहरीले खोजी जारी रहेको बताइरहे पनि अहिलेसम्म उनको ठोस सुराक नपाइनुले स्थानीयवासी आक्रोशित छन् ।

पीडित परिवारका सदस्यहरू भन्छन्, “कानुन सबैका लागि बराबर हो भने नगरप्रमुख किन पक्राउ पर्दैनन् ?” उनीहरूको गुनासो छ ,“सामान्य नागरिक भएको भए अहिलेसम्म पक्राउ परिसक्थ्यो ।” उनीहरूका अनुसार प्रहरी र राज्य संयन्त्रले सक्रियता देखाउन नसक्दा न्याय ढिलो भएको मात्रै होइन, पीडितमाथि मनोवैज्ञानिक दबाब समेत बढेको छ ।

यो घटना एउटा उदाहरण मात्र हो । पछिल्ला वर्षहरूमा मुलुकका विभिन्न तहका जनप्रतिनिधि हत्या, अपहरण, ठगी र यौन हिंसाजस्ता गम्भीर आरोपमा मुछिँदै आएका छन् । तथ्यांकले जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्दा बढ्दो रहेको देखाउँछ । यसले राजनीतिक जिम्मेवारी र नैतिकताबीचको दूरी बढेको संकेत गर्छ ।

स्थानीय बुद्धिजीवीहरूका अनुसार लोकतन्त्रमा चुनाव केवल जित–हारको खेल होइन, जनविश्वासको परीक्षा हो । फरार अभियुक्त नेतृत्वमा रहँदा शासनको वैधतामाथि नै प्रश्न उठ्ने उनीहरूको भनाइ छ । “न्याय नपाउने समाजमा विकासको वाचा खोक्रो हुन्छ,” एक स्थानीय शिक्षकले भने ।

निर्वाचनको माहोल तातेको छ, भाषण र नाराहरू चर्का छन् । तर दुधौलीमा एउटी बालिका र उनको परिवार अझै राज्यको ढोका ढकढक्याइरहेका छन् । उम्मेदवारहरू परिवर्तनको कुरा गरिरहेका बेला उनीहरूका लागि परिवर्तन भनेको एउटै हो,“अभियुक्त पक्राउ परोस् र अदालतबाट न्याय मिलोस् ।”

प्रतिक्रिया