शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

गजुरेलको उदघोष रोल्पाबाट सुरू भएको प्रचण्डयुग सिन्धुलीबाट समाप्त भयो

शनिवार , फाल्गुण २, २०८२

सिन्धुली,०२ फागुन – सिन्धुलीका बामपन्थी नेता हरिबोल गजुरेलले प्रचण्ड युगको समाप्त भएको बताएका छन । ३१ ओैं जनयुद्ध दिवसको अबसरमा सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाटमा नेता गजुरेलले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को २०५२ फागुन १ गते रोल्पाबाट सुरू भएको प्रचण्डयुग २०८२ माघ २४ गते सिन्धुलीमाढी सम्म आईपुग्दा समाप्त भएको बताए ।

उनले जनयुद्वको नेतृत्व गरेका प्रचण्डको अबशान दुःखद रहेको बताउदै नेतृत्वको सोच, आचरण र चिन्तनमा परिवर्तन नआउँदा बर्तमान अवस्था सिर्जना भएको बताए । प्रचण्डको पछिल्लो राजनीतिक कदमप्रति असन्तुष्टि व्यक्त गर्दै प्रचण्ड जनयुद्धको मूल मार्गबाट विचलित हुँदै गएको र पार्टीभित्र वैचारिक संकट गहिरिँदै गएको दाबी गरे ।

गजुरेलले जनयुद्धकालीन राजनीतिक आदर्श र वर्तमान व्यवहारबीच ठूलो दूरी बढेको टिप्पणी गरे । उनका अनुसार जनयुद्धको नाम, इतिहास र भावनालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले संगठनको आधार कमजोर बनाइरहेको छ । “त्यो आन्दोलन जनताको अधिकारका लागि थियो, पद र अवसरको व्यापारका लागि होइन,” उनले भने, “आज त्यसको भावनात्मक विरासतलाई व्यवहारले समर्थन गरिरहेको देखिँदैन ।”

उनले सिन्धुली २ नं क्षेत्रको निर्वाचन टिकट वितरण प्रसंगलाई उदाहरणका रूपमा अघि सारे । पार्टीको निर्णय विपरीत अध्यक्षले आफ्ना नजिकका व्यक्तिलाई टिकट दिएको आरोप लगाउँदै त्यसको विरोध गर्दा आफूमाथि कारबाही गरिएको उनको भनाइ छ । उनले महेश्वर दाहालमाथि पनि सोही कारण कारबाही भएको उल्लेख गरे । गजुरेलले पार्टीभित्र लोकतान्त्रिक बहसको ठाउँ खुम्चिँदै गएको र असहमति राख्नेलाई संगठनबाहिर धकेल्ने प्रवृत्ति बढेको बताए ।

उनले नेतृत्वप्रति लक्षित गर्दै भने, “पार्टी निर्णयभन्दा व्यक्ति निर्णय हावी हुन थालेपछि संगठन कमजोर हुन्छ । आन्दोलनको इतिहासलाई सम्मान गर्ने हो भने विचार, नीति र प्रक्रियालाई पनि सम्मान गर्नुपर्छ।” उनले पार्टीको आन्तरिक लोकतन्त्र पुनःस्थापना नभएसम्म वाम आन्दोलन सुदृढ हुन नसक्ने धारणा व्यक्त गरे ।

गजुरेलले जनयुद्धको स्मरण केवल औपचारिक कार्यक्रम र भाषणमा सीमित भएको टिप्पणी पनि गरे । उनका अनुसार त्यस अवधिमा उठाइएका सामाजिक न्याय, आर्थिक समानता र जनअधिकारका मुद्दा आजको राजनीतिक व्यवहारमा पर्याप्त रूपमा प्रतिबिम्बित छैनन् । “हामीले उठाएका मुद्दा अझै पूरा भएका छैनन्, तर नेतृत्व भने सत्तामुखी राजनीतिमा व्यस्त छ,” उनले भने ।

उनले प्रचण्डमाथि व्यक्तिगत आक्षेप लगाउँदै नेताको राजनीतिक विश्वसनीयता निरन्तर घट्दै गएको आरोप लगाए । तथापि उनले आफू वैचारिक बहस चाहेको बताउँदै पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारे । “व्यक्तिगत द्वन्द्व होइन, वैचारिक स्पष्टता आवश्यक छ,” उनले भने, “विचार सुधारिए संगठन स्वतः सुदृढ हुन्छ ।”

पत्रकार भेटघाट कार्यक्रममा स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले प्रचण्डले कुनै समय हरिबोल गजुरेलका बिरूद्व आफुलाई प्रयोग गर्न खोजेको भएपनि आफू हरिबोल जस्तो निष्ठावान नेताको पक्षमै उभिएको बताए ।

पार्टी भित्र रूपान्तरणको बिषय उठाउँदा अपमान गर्ने प्रचण्डको प्रवृति रहेको बताउदै प्रचण्डको भ्रष्टाचार, परिवारवाद र स्वच्छाचारका बिरूद्व लाग्दा आफुहरू प्रति कार्वाही भएको उनको भनाई थियो । जनयुद्वका नायक प्रचण्ड गिरोह निर्माण गर्दै पतनको बाटोमा पुगेको दाहालले आरोप लगाए ।

कार्यक्रममा सहभागी स्थानीय कार्यकर्ताहरूले पनि पार्टीभित्र संवाद आवश्यक भएको बताएका थिए । उनीहरूले आन्दोलनको इतिहास जोगाउन नयाँ पुस्तालाई स्पष्ट दिशा दिनुपर्नेमा जोड दिएका थिए । केहीले भने वर्तमान राजनीतिक प्रतिस्पर्धाले वामपन्थी शक्तिहरूलाई विभाजित बनाइरहेको चिन्ता व्यक्त गरे ।

जनयुद्ध दिवसको अवसरमा गरिएको यो टिप्पणीले माओवादी राजनीतिभित्र चलिरहेको वैचारिक बहस पुनः सतहमा ल्याएको देखिन्छ । आन्दोलनको इतिहास, नेतृत्वको शैली र संगठनको भविष्यबारे उठेका प्रश्नहरूले राजनितिमा नयाँ बहस सिर्जना गरेको छ ।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीको उम्मेदवार सिफारिस कार्यदलको सिफारिस बिपरित प्रचण्डले सिन्धुली–२ मा लेखनाथ दाहाललाई टिकट दिएपछि नेता हरिबोल गजुरेल प्रस्तावक र जिल्ला संयोजक पानिराज बम्जनको सर्मथनमा महेश्वर दाहाल स्वतन्त्र उम्मेद्वार बनेर चुनाबि मैदानमा होमिएका छन । गजुरेल र दाहाललाई प्रचण्डले कारबाहि गरेपनि जिल्लामा उनिहरूको प्रभाब बलियो देखिएको छ । जनयुद्वका इमान्दार नेता, कार्यकर्ता, सहिद परिवार, नागरिक समाज र बुद्विजिविहरूले उनिहरूलाई साथ दिएका छन । पार्टीको गलत नीति, क्रियाकलाप र प्रचण्डको परिवारवाद, स्वेच्छाचारी प्रवृति बिरूद्व आफुहरूको बिद्रोह रहेको उनिहरूको जिकिर छ ।

प्रतिक्रिया