सिन्धुली,०१ फागुन– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनोजजंगको चुनावी प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । पछिल्ला दिनहरूमा आयोजित घरदैलो, टोलभेला तथा युवा–महिला केन्द्रित अन्तरक्रियामा उल्लेख्य सहभागिता देखिएपछि चुनावी माहोलमा उनी अग्रस्थानतर्फ उन्मुख देखिएका छन् ।
समृद्वि, सुशासन, दिगो बिकास, खानेपानी समस्या समाधान र कृषि उत्पादनको बजार व्यवस्थापनलाई मुख्य एजेन्डा बनाउँदै मनोजजंग मतदातामाझ प्रस्तुत भइरहेका छन् । विशेषगरी युवा पुस्तालाई रोजगारी, सीप विकास तालिम र स्वरोजगार कार्यक्रममार्फत जोड्ने प्रतिबद्धताले उनीप्रति आकर्षण बढाएको स्थानीयहरू बताउँछन् ।
स्थानीय सरकारले केही मतदाताहरूलाई श्रोतसाधनको दुरूपयोग गर्दै विभिन्न प्रलोभन बाडेको भएपनि मतदाताको मनोबिज्ञान थापा प्रति झन बलियो बन्दै गईरहेको नेकपा(एमाले)का युवा नेता दिपक माझीले बताए । दुई कार्यकाल स्थानीय सत्ताको नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टीले भ्रष्टाचार, अनियमितता गर्दै नागरिकलाई सुशासन दिन नसक्दा उक्त दल र नेता प्रति बितृष्ठा बढेको र एमाले प्रति आशा र सर्मथन बढेको माझीले बताए ।
हरिहरपुरगढीका विभिन्न वडामा सक्रिय कार्यकर्ता परिचालन, मतदाता भेटघाट र सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह प्रभावकारी बन्दै जाँदा चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुगेको छ । विपक्षी दलका उम्मेदवारहरू पनि सक्रिय देखिए तापनि मनोजजंगको पक्षमा देखिएको जनलहरले परिणाम कस्तो आउला भन्ने चासो बढाएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार “यसपटक एजेन्डा र पहुँचका आधारमा मतदान गर्ने वातावरण बनेको” छ । यद्यपि अन्तिम निर्णय भने मतपेटिकाबाटै हुने भएकाले चुनावी समीकरण अझै खुला नै रहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।