सिन्धुली,२९ माघ – प्रतिनिधि सभा सदस्यका लागि फागुन २१ गते तय भएको निर्वाचन नजिकिँदै जाँदा सिन्धुली–२ को राजनीतिक तापक्रम दिनानुदिन बढ्दो छ । पाँच स्वतन्त्रसहित १६ उम्मेदवार मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावी समीकरण रोचक मात्र होइन, अप्रत्याशित मोड लिन सक्ने संकेत देखिएको छ । मुख्य दलहरूभित्रै देखिएको असन्तुष्टि र बागी उम्मेदवारीले प्रतिस्पर्धालाई झनै पेचिलो बनाएको छ ।
नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का आधिकारिक उम्मेदवारलाई आफ्नै दलका असन्तुष्ट नेताको चुनौती छ । काँग्रेसबाट उम्मेदवार बनेकी सुशीला थिङविरुद्ध सोही पार्टीका पूर्वजिल्ला उपसभापति खड्गबहादुर वाइबाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै वाइबाले पार्टी नेतृत्वले कार्यकर्ताको भावना बेवास्ता गरेको आरोप लगाएका छन् । उनले ‘पार्टीमा न्याय र विधिको स्थापनाका लागि’ आफू चुनावी मैदानमा उत्रिएको दाबी गरेका छन् ।
उता नेकपा का आधिकारिक उम्मेदवार लेखनाथ दाहाल ‘राजन’ लाई पनि आफ्नै पार्टीभित्रको विद्रोहको सामना गर्नुपरेको छ । पार्टीका नेता महेश्वर दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि नेकपाभित्रको असन्तुष्टि सतहमा आएको छ । जिल्लाबाट सिफारिस नभएका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै नेताहरूले असहमति जनाएका हुन् । स्वतन्त्र उम्मेदवार दाहालको प्रस्तावकमा पूर्वमन्त्री हरिबोल गजुरेल र समर्थकमा जिल्ला संयोजक पानीराज बम्जन रहेका छन् । पार्टीका केही केन्द्रीय तथा जिल्ला तहका नेताहरू खुलेरै स्वतन्त्र उम्मेदवारको पक्षमा लागेपछि आधिकारिक उम्मेदवार दाहालको चुनावी यात्रामा चुनौती थपिएको छ ।
दुई ठूला दलभित्रको आन्तरिक खटपटले नेकपा (एमाले) लाई भने अवसर सिर्जना गरेको विश्लेषण गरिएको छ । एमालेका उम्मेदवार मनोजजंग थापा यसपटक विगतको हारको बदला लिने दाउमा छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका कारण थापा झन्डै छ हजार मतान्तरले पराजित भएका थिए । त्यतिबेला लेखनाथ दाहालले गठबन्धनको बलमा जित निकालेका थिए । तर अहिले समीकरण फेरिएको छ । गठबन्धन कमजोर र दलहरूभित्र असन्तुष्टि चुलिँदा एमालेले आफूलाई बलियो विकल्पका रूपमा प्रस्तुत गर्न खोजेको छ ।
काँग्रेसका जिल्ला सचिव ईश्वर बस्नेत भने बागी उम्मेदवारीले ठूलो असर नगर्ने दाबी गर्छन् । उनका अनुसार काँग्रेस संगठनात्मक रूपमा बलियो रहेकाले मतदाताले आधिकारिक उम्मेदवारकै पक्षमा निर्णय गर्नेछन् । “हामी जित निकाल्ने रणनीतिसहित घरदैलो अभियानमा सक्रिय छौँ,” उनले भने, “नेकपाभित्रको विभाजन र एमालेभित्रको असन्तुष्टिले पनि हाम्रो पक्षमा वातावरण बनाएको छ ।”
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल पनि मतदातामाझ पुगेर समर्थन जुटाइरहेका छन् । वैकल्पिक राजनीतिक शक्ति र नयाँ अनुहारको मागलाई सम्बोधन गर्ने भन्दै रास्वपाले युवा मतदाता तान्ने प्रयास गरेको छ । पार्टीका जिल्ला सचिव लालप्रसाद देवकोटाले यसपटकको परिणाम आश्चर्यजनक हुन सक्ने संकेत गरे ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, श्रम संस्कृति पार्टी, राप्रपा, मितेरी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा माओवादीलगायतका दल र स्वतन्त्र गरी १६ उम्मेदवार प्रतिस्पर्धामा छन् । बहुदलीय प्रतिस्पर्धा र स्वतन्त्र उम्मेदवारीको बढ्दो संख्या स्वयंमा मत विभाजनको संकेत मानिएको छ ।
सिन्धुली–२ मा यसपटकको चुनाव केवल दलबीचको प्रतिस्पर्धा मात्र नभई पार्टीभित्रको असन्तुष्टि, गठबन्धनको प्रभाव र नयाँ शक्तिको परीक्षण पनि बनेको छ । बागी उम्मेदवारले कति मत तान्छन् र त्यसको लाभ कसले उठाउँछ भन्ने प्रश्न नै चुनावी परिणामको मुख्य निर्णायक बन्ने देखिन्छ । मतदाताको अन्तिम निर्णयले मात्र यस राजनीतिक समीकरणको रहस्य खोल्नेछ ।