शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मरिण डाइभर्सनमा क्रेनबाट खसेको बिमले लाग्दा कामदारको मृत्यू

बुधवार , माघ २८, २०८२

सिन्धुली,२८ माघ— मरिण डाइभर्सन क्षेत्रमा पुरानो घर भत्काउने क्रममा क्रेनबाट उचालिएको बिम लाग्दा एक कामदारको उपचारका क्रममा मृत्यु भएको छ । कमलामाई नगरपालिका–१ स्थित घटनास्थलमा बुधवार अपराह्न भएको दुर्घटनाले स्थानीय निर्माण क्षेत्रमा सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार  बुधवार अपराह्न करिब ४ः३० बजे मरिण डाइभर्सन नजिक पुरानो घर भत्काई राखिएको बिम क्रेनमार्फत उचाल्ने काम भइरहेको थियो । सोही क्रममा चालकको नाम नखुलेको क्रेनले अचानक नियन्त्रण गुमाउँदा कम्पनीमा कार्यरत कमलामाई–१ आंपचौर बस्ने करिब ३१ वर्षीय अर्जुन भुजेललाई बिमले लागेको थियो । बिम टाउको, अनुहार र घाँटीमा लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

घटनापछि सहकर्मीहरूले उनलाई तत्काल उद्धार गरी करिब ५ः१० बजे जिल्ला अस्पताल सिन्धुली पुर्‍याएका थिए । चिकित्सक टोलीले आकस्मिक कक्षमा उपचार सुरु गरे पनि अवस्था अत्यन्त नाजुक रहेकाले बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । करिब ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीको भनाई छ ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उज्वल कार्कीको कमाण्डमा मुचुल्का टोलीसहित पाँच जना प्रहरी घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र क्रेनको प्राविधिक अवस्थाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा क्रेनको चालक पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । निर्माण कार्यका क्रममा आवश्यक सुरक्षा सावधानी अपनाइएको थियो कि थिएन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रमिक सुरक्षासम्बन्धी मापदण्ड पालना भए नभएको र उपकरणको प्राविधिक जाँच नियमित रूपमा गरिएको थियो वा थिएन भन्ने पक्ष पनि छानबिनको दायरामा परेको छ ।

स्थानीय बासिन्दाले निर्माण कार्यमा सुरक्षा प्रबन्ध कडाइका साथ लागू गर्न माग गरेका छन् । पछिल्ला समय निर्माण क्षेत्रमा भइरहेका दुर्घटनाले श्रमिक सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता झन् बढेको उनीहरूको भनाइ छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया