शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एमाले उम्मेदवार मनोज जंग थापालाई भूमि पीडितको ध्यानाकर्षण

बुधवार , माघ २८, २०८२

सिन्धुली,२८ माघ — आसन्न निर्वाचनको सन्दर्भमा भूमि अधिकारका विविध मुद्दा केन्द्रमा राख्दै राष्ट्रिय भूमि अधिकार मञ्च, सिन्धुलीले नेकपा एमाले सिन्धुली क्षेत्र नम्बर–२ का उम्मेदवार मनोज जंग थापालाई प्रतिबद्धता पत्रसहित ध्यानाकर्षण गराएको छ । भूमि हिन दलित, भूमि हिन सुकुम्बासी, अव्यवस्थित बसोबासी, गुठी पीडित, मोहियानी हक, गाउँब्लक तथा छुट जमिन दर्ता जस्ता विषयलाई समेटिएको उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी उम्मेदवार थापालाई बुझाइएको मञ्चले जनाएको छ ।

मञ्चका प्रतिनिधिहरूले यी मुद्दा वर्षौंदेखि समाधानको पर्खाइमा रहेको भन्दै आगामी निर्वाचनको घोषणा पत्रमै स्पष्ट रूपमा समावेश गर्न आग्रह गरेका छन् । भूमि सम्बन्धी समस्याले हजारौँ परिवार प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उनीहरूले स्थायी समाधानका लागि राजनीतिक इच्छाशक्ति आवश्यक रहेको धारणा राखे । कार्यक्रममा वक्ताहरूले भूमि हिन तथा सुकुम्बासी समुदायको जीवनस्तर उकास्न कानुनी, नीतिगत र प्रशासनिक सुधार अपरिहार्य भएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री दिनेश चन्द्र देवकोटा, नेकपा एमालेका केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, उपाध्यक्ष कर्ण घिसिङ, सचिव नवराज थिङ, उपसचिव दिपेश बराल, कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटा लगायतको उपस्थिति रहेको थियो । भूमि अधिकार अभियानका बागमती प्रदेश अध्यक्ष रमेश देवकोटा तथा केन्द्रीय सदस्य डोर कुमारी कार्कीले भूमि पीडित समुदायको मागलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

उम्मेदवार थापाले भूमि सम्बन्धी समस्याप्रति आफू संवेदनशील रहेको उल्लेख गर्दै वैधानिक र व्यवहारिक समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले निर्वाचनपछि पनि सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी समस्याको दिगो समाधान खोजिने बताए ।

कार्यक्रममा सहभागीहरूले भूमि अधिकारको सवाललाई केवल चुनावी मुद्दा नभई सामाजिक न्याय र समावेशी विकाससँग जोडिएको विषयका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे । भूमि पीडितको आवाजलाई सशक्त रूपमा उठाउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने मञ्चले जनाएको छ ।

प्रतिक्रिया