शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

घ्याङ्लेख बैंक डाँका प्रकरण : ६ कारागार चलान , १ बालसुधार गृहमा

बुधवार , माघ २८, २०८२

सिन्धुली,२८ माघ — घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबिआई बैंक लिमिटेडको शाखामा भएको संगठित डाँका प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनामध्ये छ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने एक नाबालकलाई बालसुधार गृह पठाइएको छ । सिन्धुली जिल्ला अदालतले मंगलवार दिएको आदेशअनुसार उनीहरूलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाइने भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार मिति २०८२ पुस २९ गते साँझ करिब ६ः३० बजे बैंकमा योजनाबद्ध रूपमा डाँका गरिएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष अनुसन्धान टोली गठन गरी संलग्नहरूको खोजी सुरु गरेको थियो । अनुसन्धानका क्रममा विभिन्न स्थानबाट पक्राउ परेका आरोपितहरूलाई अदालतमा उपस्थित गराइएको थियो ।

अदालतको आदेशअनुसार घ्याङ्लेख–२ हायुटारका ४३ वर्षीय छविलाल स्याङतान, सोही स्थानका ४३ वर्षीय चतुरमान बजु, ५३ वर्षीय ज्ञानबहादुर भ्लोन तामाङ, चितवनको भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कका २२ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ भेडाबारीका २२ वर्षीय विवेक मगर र २३ वर्षीय मिलन गिरीलाई पुर्पक्षका लागि कारागार कार्यालय सिन्धुली पठाइएको हो । उनीहरूविरुद्ध संगठित रूपमा डाँका चोरी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।

यसैगरी, घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक नाबालकलाई भने कानुनअनुसार बालसुधार गृहमा राख्न आदेश भएको प्रहरीले जनाएको छ । उनको परिचय गोप्य राखिएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको आशंका गरिएका केही सामग्री बरामद गरेको र थप प्रमाण संकलनको काम जारी रहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट डाँका योजनाबद्ध ढंगले गरिएको संकेत देखिएको प्रहरीको भनाइ छ। बैंकमा रहेको नगद तथा अन्य सामग्री लुटपाट गरिएको बताइए पनि यकिन क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

घटनापछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो । ग्रामीण भेगमा रहेका बैंक तथा वित्तीय संस्थाको सुरक्षाबारे पुनः प्रश्न उठेको छ। स्थानीय तह र सुरक्षा निकायबीच समन्वय सुदृढ गर्दै यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक कदम चालिने प्रहरीको दाबी छ ।

प्रतिक्रिया