म कक्षा ७ मा पढ्दै गर्दा सिन्धुलीमा दुई ठूला परिवर्तनहरू भित्रिँदै थिए—जसले हाम्रो जिल्लाको भौगोलिक नक्सा मात्र होइन, भविष्यको दिशानै बदल्ने संकेत दिइरहेका थिए । ९० को दशकको अन्त्यतिर (१९९६÷९७), तत्कालीन योजनाकारहरूले एउटा साहसिक सपना देखे काठमाडौं र तराईलाई छोटो, सुरक्षित र रणनीतिक बाटोले जोड्ने । यो केवल सडक निर्माणको योजना थिएन, यो राष्ट्रको मेरुदण्ड निर्माण गर्ने संकल्प थियो ।
त्यही समयमा जापानी प्राविधिकहरू पहाड चिर्दै थिए भने नेपाल टेलिकमले पहिलोपटक सिन्धुलीमा मोबाइल नेटवर्क भित्र्याउँदै थियो । पहाड काट्ने, कालोपत्रे गर्ने काम तीव्र गतिमा चलिरहेको थियो, र बी.पी. राजमार्गको नाम गाउँ–गाउँमा चर्चा हुँदै गइरहेको थियो ।
निर्माण र चुनौतीको लामो यात्रा
बी.पी. राजमार्गको निर्माण सन् १९९६ नोभेम्बरमा सुरु भई जापान सरकारको आर्थिक तथा प्राविधिक अनुदानसहित करिब २० वर्षपछि, मार्च २०१५ मा मात्र सम्पन्न भयो ।
यस ढिलाइका मुख्य कारणहरूमा,पहाड काट्ने अत्यन्त कठिन भू–बनावट,ढुंगे भित्ताहरू स्थिर बनाउन लाग्ने लामो समय मनसूनका बेला बारम्बार हुने पहिरो र सुरक्षा चुनौतीहरू प्रमुख थिए ।
जापान र नेपालको सहकार्यमा करिब २६ अर्ब येनको लगानीमा घुमाउरो तर दिगो सडक निर्माण सम्भव भयो । यसले स्थानीयवासीका लागि ‘सपना सडक’ को रूप लियो—काठमाडौं र तराईबीचको यात्रा छोटो, सुरक्षित र भरपर्दो बन्यो ।
राजमार्गपछिः विकासको बगैंचा
राजमार्ग खुलेपछि सिन्धुली माढीको जीवनशैली नै फेरियो । पहिले पत्रिका र चिठ्ठीमा सीमित सूचना अब मोबाइल र इन्टरनेटमार्फत तुरुन्तै पुग्न थाल्यो । धुलिखेल–सिन्धुली यात्रा ४–५ घण्टामा सीमित भयो, जुन पहिले मुग्लिन हुँदै दिनभरको थकाइपूर्ण यात्रा थियो ।
कृषकका तरकारी, मकै, सुन्तला सहजै बजार पुग्न थाले, जसले लाखौँ रुपैयाँको आम्दानी सम्भव बनायो । काठमाडौंबाट डाक्टर, व्यवसायी र यातायात सेवाहरू माढी भित्रिए । स्वास्थ्य र व्यापारका सुविधा घरदैलोमै आइपुगे । जहाँ पहिले गोठ मात्र थिए, त्यहाँ पसल र पक्की घर बने। मोटर चल्न थाले, एम्बुलेन्स सेवा सुरु भयो,राजमार्गले सम्भावनाको ढोका खोलिदियो ।
नयाँ चुनौती र पुनर्निर्माणको आशा
तर विकासको यो यात्रामा ठूलो धक्का पनि आयो । २०८१ असोजको भीषण बाढी–पहिरोले बी.पी. राजमार्गका करिब २५ किलोमिटर खण्डमा गम्भीर क्षति पुर्यायो । यसपछि पुनर्निर्माणका लागि साउन ८ गते तीन ठूला प्याकेजमा ठेक्का सम्झौता भयो,भकुण्डेबेसी–चारसायबेसी, पिप्ले–दलाबेसी रनेपालथोक–सेराखोला ।
अर्थ मन्त्रालयले ८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ, जसमा जापान सरकारको करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान पनि समावेश छ । हाल जाइकाले प्राविधिक मूल्यांकन गरिरहेको छ, र २०२६ अप्रिलदेखि दलाबेसी–बर्खेखोला खण्डको पुनर्निर्माण जापानको सहयोगमा सुरु हुने तयारी छ ।
अहिलेसम्म जोखिमयुक्त स्थानहरूमा अस्थायी ग्राभेल डाइभर्सन र ग्रिड संरचना जडान गरी यातायात सञ्चालनमा राखिएको छ। पूर्ण पुनर्निर्माणमा समय लाग्ने भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यले बी.पी. राजमार्गलाई अझ सुरक्षित, दिगो र भरपर्दो बनाउने आशा बलियो देखिन्छ ।
निष्कर्ष
बी.पी. राजमार्ग एउटा सडक मात्र होइन,यो सिन्धुलीको परिवर्तनको कथा हो, सम्भावनाको यात्रा हो, र भविष्यप्रतिको भरोसा हो । आज चुनौती छन्, तर हिजोको साहस र सहकार्यले जस्तै भोलिको पुनर्निर्माणले पनि यो राजमार्गलाई फेरि जीवन दिनेछ ।