शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमरेड प्रचण्डलाई खुला पत्र : समय छ सच्चिनुस्, सिन्धुली– २ लाई सच्याउनुस्

सोमवार , माघ १९, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुली– २ मा नेपाली कम्युनिस्ट पार्टीका महेश्वर दाहाल र लेखनाथ दाहाल (राजन) चुनावी मैदानमा छन् । पार्टी केन्द्रले त्यहाँ सिफारिसमै नपरेका राजनलाई टिकट दिएपछि विद्रोह भएको हो । त्यसैले फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा नेकपाले सजिलै जित्न सक्ने यो क्षेत्रको सम्भावित परिणामबारे राष्ट्रिय स्तरमै चासो र नेकपाभित्र चिन्ता पैदा भएको छ ।

नेकपाको सिन्धुली जिल्लाका मुख्य पदाधिकारीहरू अहिले महेश्वर दाहालको प्रचारमा छन् । त्यसो त सिफारिस समितिले एकमतले गरेको सिफारिसलाई पार्टी केन्द्रले लत्त्याएपछि नै महेश्वर दाहालले उम्मेदवारी दिनुपरेको हो । लेखनाथ दाहाललाई भने सिफारिस समितिले सिन्धुली–१ बाट सिफारिस गरेको थियो ।

पार्टीका प्रभावशाली नेता हरिबोल गजुरेल, तत्कालीन माओवादी केन्द्रका जिल्ला इन्चार्ज वसन्त माझी, जिल्ला संयोजक पानीराज बम्जन, पदाधिकारीहरू, जिल्ला सदस्यहरू, एकता भएका घटकका तत्कालीन जिल्ला समितिहरू प्रायः सबै नै यो एजेन्डामा छन् । महेश्वरलाई निर्वाचन आयोगले मुढा चुनाव चिन्ह दिएको छ ।

हरिबोल त महेश्वरको उम्मेदवारीको प्रस्तावक नै छन्, पानीराज समर्थक छन् । नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले हरिबोल र महेश्वरलाई पार्टीबाट निष्कासन गरेको बेहोरा सार्वजनिक गरेका छन् । तर आफूहरूले नै परिपत्रसहित अधिकार दिएको जिल्लाको उम्मेदवार सिफारिसलाई किन लत्याएको, स्पष्ट पारेका छैनन् ।

त्यसैले अन्यत्र कसैले बागी दिएको जस्तो अवस्था सिन्धुली– २ को होइन । हरिबोल र महेश्वर दुवैले पार्टी केन्द्रले आफैँले स्थापित गरेको विधि लत्याएर मनोमानी गरेकोले आफूहरूले त्यसलाई कार्यान्वयन गरेको स्पष्ट पारेका छन् ।

त्यसो त महेश्वर आफैँमा पदप्रति मरिहत्ते गर्दै बागी हुने स्वभावका व्यक्तित्व होइनन् । उनले जनतासँग भिजेका र निष्ठाको राजनीति गरेका जो कोही साथीलाई उम्मेदवार बनाए पनि आफू पुरै अवधि प्रचारमा खट्ने विश्वास दिलाएका थिए । सिन्धुलीमा उनको अन्तरसंघर्ष सैद्धान्तिक मूल्य, निष्ठा तथा इमान कि शक्तिको अर्थ विद्रुपीकरण, पार्टी वा राजकीय सत्ताको आडमा स्रोतको दोह (( भन्नेमा निरन्तरदेखि थियो।

दुई वर्ष अगाडि पार्टीको लामो अभियानको संयोजक भएर सिन्धुली आउँदा उनले पार्टी–सत्ताको विद्रुपीकरणलाई पाइलापाइलामा अनुभूत गर्न पाएका थिए । अन्ततः पार्टी केन्द्रले पनि त्यही प्रवृत्तिलाई च्यापेको देखेपछि त्यही प्रवृत्तिसँग विद्रोही जस्तो भएर उनी अहिले आमनेसामने भएका छन् ।

पार्टी–संगठन बलियो भएको र समुदायले सधैँ साथ दिएको क्षेत्रमा एउटै पार्टीका दुई उम्मेदवार अगाडि सर्दा त्यसले दिने परिणाम कस्तो आउला ? यद्यपि, पालिका र वडा तहसम्मको माहौल हेर्दा अरू उम्मेदवार भन्दा महेश्वर अपेक्षित बलिया देखिन्छन्, तर परिणामको चिन्ता पार्टी केन्द्रलाई नै बढी हुनुपर्छ र पथ्र्यो । समुदाय, सहिद परिवार, युद्धले उपहार दिएको जीवन बाँचेर अझै समृद्धि र रूपान्तरण खोज्दै बसेका कार्यकर्ताको अपेक्षा चटक्कै बिर्सने भुल नेतृत्वले गर्नु हुँदैन ।

मुलुककाविरुद्ध भित्री र बाहिरी प्रतिक्रियावादीहरूको घोर षड्यन्त्र चलिरहेको यो बेला, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र सच्चा कम्युनिष्टहरूबीच नीतिनिष्ठ र दरो एकता अपरिहार्य छ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत धेरै वामपन्थी तथा कम्युनिष्टहरू पार्टी, पक्ष तथा समूह एकताबद्ध भैसकेका छन् । त्यसलाई सुदृढ बनाउनुको सट्टा एकाङ्गी भएर जसरी निर्णय थोपर्ने परिस्थिति देखिएको छ, यसले नेकपाको कमजोर संस्थागत प्रणालीलाई उजागर गरेको छ ।

नेकपाका वरिष्ठतम नेता झलनाथ खनालले भनेजस्तै, हरिबोल गजुरेल जस्ता वरिष्ठ नेताहरूमाथि नै स्पष्टीकरणको मौका पनि नदिईकन पार्टीबाट निष्कासन सम्मको कठोर कारबाही हुनु, उम्मेदवारीबारे विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रूपमा जानकारी सम्म पनि नहुनु र एकैचोटि सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक छ ।

खनालले भनेका छन, “‘यदि यो नेपाली कम्युनिस्ट पार्टीलाई सच्चा कम्युनिस्ट पार्टी बनाउने हो भने यस प्रकारका कारबाहीलाई अविलम्ब स्थगित गर्न, क. हरिबोल गजुरेलसहित नेतृत्वदायी तहमा रहेका कमरेडहरूको आकस्मिक बैठक बोलाउन, किन यस्ता कदम चाल्नुप¥यो यस बारेमा पार्टीभित्र दोहोरो र गम्भीर छलफल गर्न, यस घटनाक्रमको समीक्षा गर्न, पार्टीमा अधिनायकवादी शैली होइन सामूहिक निर्णय र नेतृत्व प्रणालीलाई स्थापित गर्न नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डसँग म जोडदार माग गर्दछु । अन्यथा, एकीकरण भई नसक्दै विश्रृंखलतातिर जाने खतराबाट नेकपालाई बचाउन गाह्रो हुनेछ ।”

सिन्धुली– २ को अवस्थाले वास्तवमा नेकपाको पक्षमा देशव्यापी बन्दै गएको माहौल धमिल्याएको छ । यही स्तरको विवाद रहिरहे नेकपाले सुनिश्चित भएका सीटसमेत गुमाउन सक्छ । हाललाई विवादको मुख्य विषय सिन्धुली– २ नै हो । तर, यसले अन्यत्र असर नपरोस् भनेर संयोजक प्रचण्ड र सहसंयोजक नेपाल लगायतले जिम्मेवार सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

त्यसैले बुद्धिजीवी दीपक मैनालीले ठिकै लेखेका छन्, “अझै केही बिग्रिएको छैन । पहिला पनि ‘आधिकारिक’ उम्मेदवारको उम्मेदवारी फिर्ता लिई ‘बागी’ उमेदवारलाई समर्थन गरेका विभिन्न पार्टीभित्रका प्रशस्त उदाहरण छन् । रात गए अग्राख पलाउँछ भन्ने भनाइ छ ।

देशले भरपर्दो नेतृत्वको माग गरेको र त्यसको नेतृत्व गर्न सक्ने एउटा प्रमुख पात्रका रूपमा दुनियाँले स्वीकार गरेको नेकपाका संयोजकज्यूले यसतर्फ बेलैमा गम्भीर र सकारात्मक पहल गर्न ढिला नगर्दा नै उहाँको नेतृत्व क्षमतामा अझ निक्खरता देखिनेछ । निर्देशन, त्यसको उल्लङ्घन र कारबाहीको शृंखलाले न देश न त पार्टीलाई फाइदा हुन्छ । यसतर्फ स्वार्थभन्दा माथि उठेर पहलकदमी लिन सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ ।”

संयोजक प्रचण्ड, अझै समय छ, सिन्धुली–२ लाई सच्याउनुहोस् ।

(लेखक नेपाली कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिवालय सदस्य तथा कमलामाई नगरपालिकाका इन्चार्ज हुन् ।)

प्रतिक्रिया