काठमाडौं,१८ माघ – नेपाली काँग्रेसको विशेष महाधिवेशनले पार्टीको शक्ति सन्तुलन मात्र होइन, आन्तरिक राजनीति र आगामी निर्वाचनको दिशा पनि नयाँ मोडमा पुर्याएको छ । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएसँगै काँग्रेसभित्र लामो समयदेखि प्रभावशाली रहँदै आएको पुरानो संस्थापन खेमाको हैसियत खुम्चिएको देखिन्छ । पार्टी नेतृत्वबाट बाहिरिएपछि पूर्वसभापति शेरबहादुर देउवा राजनीतिक रूपमा असहज अवस्थामा पुगेका छन् ।
निर्वाचनको संघारमा आफू पार्टी नेतृत्वबाट हटाइनु देउवा पक्षका लागि केवल सांगठनिक झट्का मात्र होइन, आगामी राजनीतिक भविष्यसँग जोडिएको प्रश्न बनेको छ । देउवा निकट मानिएका धेरै नेताहरूले टिकट नपाउँदा असन्तुष्टि सतहमा आएको छ । देउवा खेमाकै केही नेताहरू गगन थापाले हस्ताक्षर गरेको टिकट लिएर चुनावी मैदानमा उत्रिए पनि देउवा दम्पती स्वयं टिकटविहीन बनेका छन् । यसले काँग्रेसभित्रको अन्तरविरोधलाई थप उजागर गरेको छ ।
काँग्रेसको इतिहास हेर्दा, आन्तरिक अन्तर्घात र गुटबन्दीले पार्टीलाई कमजोर बनाएको उदाहरण नयाँ होइन । ‘काँग्रेसलाई हराउने काम काँग्रेसले नै गर्छ’ भन्ने भनाइ अहिले पनि सान्र्दभिक देखिन्छ । दाजुभाइबीच सत्ता संघर्षदेखि लिएर सभापतिलाई नै चुनौती दिने परम्परा काँग्रेसभित्र दोहोरिँदै आएको छ । यही ऐतिहासिक पृष्ठभूमिमा अहिले सभापति बनेका गगन थापा पनि चुनौतीको केन्द्रमा छन् ।
विशेष महाधिवेशनमार्फत ठूलो जोखिम मोलेर नेतृत्वमा पुगेका गगनका लागि अबको सबैभन्दा ठूलो परीक्षा आगामी निर्वाचन नै हो । उनी काठमाडौँ–४ छोडेर सर्लाहीबाट चुनाव लड्ने निर्णयमा पुगेपछि चुनौती झन् बढेको विश्लेषण काँग्रेस वृत्तमा भइरहेको छ । मधेशको राजनीतिक समीकरण, स्थानीय शक्ति सन्तुलन र राष्ट्रिय दलहरूको प्रतिस्पर्धाले सर्लाहीलाई कठिन निर्वाचन क्षेत्र बनाइदिएको छ ।
यही दबाबका बीच गगन थापाले देउवासँग निरन्तर संवादमा रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । यसलाई देउवा पक्षलाई पूर्ण रूपमा अलग्याउनेभन्दा पनि मन जित्ने प्रयासका रूपमा हेरिएको छ । तर देउवा पक्षभित्रका सबै नेता संवाद र समन्वयको पक्षमा छन् भन्ने संकेत देखिँदैन । टिकट नपाएको असन्तुष्टि कतिपय नेताहरूमा प्रतिशोधको मनोविज्ञानमा रूपान्तरित हुने जोखिम पनि देखिएको छ ।
यसैबीच, देउवाले अघिल्लो निर्वाचनमा टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका अमरेशकुमार सिंह यसपालि रास्वपाबाट गगन थापाविरुद्ध मैदानमा छन् । देशव्यापी रूपमा रास्वपाको प्रभाव बढिरहेका बेला अमरेशले त्यसको लाभ उठाउने प्रयास गर्ने आँकलन गरिएको छ । निर्वाचन क्षेत्र परिवर्तन गरेर सर्लाही झरेका गगनका लागि यो प्रतिस्पर्धा सहज देखिँदैन ।
यस्तो अवस्थामा गगनमाथि चुनाव जित्न गठबन्धनको दबाब बढ्दै गएको स्रोतहरूको दाबी छ । सोही दबाबका कारण गगनको ध्यान नेकपा एमालेतर्फ केन्द्रित भएको चर्चा चलिरहेको छ । स्रोतका अनुसार सर्लाही–४ मा एमालेले गगनलाई समर्थन गर्ने र झापा–५ मा काँग्रेसले एमाले उम्मेदवारलाई सघाउने विषयमा प्रारम्भिक संवाद भएको छ । यद्यपि यसबारे औपचारिक सहमति भने भइसकेको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली का लागि पनि झापा–५ यसपटक सजिलो देखिँदैन । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा नेता बालेन शाह झापा–५ बाट चुनाव लड्ने तयारीमा जुटेपछि प्रतिस्पर्धा थप रोचक बनेको छ । यस्तो अवस्थामा काँग्रेसको साथ पाए एमालेका लागि जितको सम्भावना बलियो हुने निष्कर्ष एमाले वृत्तमा निकालिएको बताइन्छ ।
तर यहींनेर गगन थापाको आफ्नै राजनीतिक निर्णय प्रश्नको घेरामा पर्न सक्छ । सभापति बनेपछि उनले काँग्रेसले चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने स्पष्ट निर्णय सार्वजनिक गरेका थिए । यदि सीमित सिटमै भए पनि एमालेसँग तालमेल भयो भने गगनको निर्णय क्षमतामाथि प्रश्न उठ्ने निश्चित छ ।
विशेष महाधिवेशनपछि प्रतिनिधिसभा निर्वाचनमा पार्टी नेतृत्वले जनताको अनुमोदन नपाए त्यसको प्रभाव आगामी नियमित महाधिवेशनमा पर्ने काँग्रेसभित्र व्यापक बुझाइ छ । निर्वाचनपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने बाध्यताबीच देउवा पक्ष बदला लिने रणनीतिमा जुट्ने संकेत देखिएको छ ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनले काँग्रेसलाई नयाँ नेतृत्व त दियो, तर पुराना घाउहरू अझै पूर्ण रूपमा निको भएको छैन । यही अन्तर्विरोध, शक्ति संघर्ष र गठबन्धनको सम्भावनाबीच काँग्रेस र त्यसका सभापति गगन थापा आगामी निर्वाचनतर्फ अगाडि बढिरहेका छन् । परिणामले मात्र होइन, प्रक्रियाले पनि काँग्रेसको भावी राजनीतिक दिशा तय गर्ने निश्चित छ ।