सल्यान, १० माघ — सल्यान सदरमुकाम खलङ्गा नजिकै रहेको थापागाउँको नयाँ बसपार्कमा जग्गादाताको योगदानलाई स्मरण गर्दै स्वर्गीय लक्ष्मण देवकोटाको सालिक अनावरण गरिएको छ । शारदा नगरपालिका–३ मा अवस्थित उक्त बसपार्क परिसरमा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सालिक आवरण गरिएको हो ।
बसपार्क निर्माणका लागि जग्गा दानगरी महत्वपूर्ण भूमिका खेलेका स्व. देवकोटाको सम्झनामा उनका छोरा महेश देवकोटाको पहल तथा परिवारजन, दाजुभाइ, दिदीबहिनी र आफन्तहरूको सहयोगमा सालिक निर्माण गरिएको हो । महेश देवकोटाका अनुसार बुवाको समाजप्रतिको योगदानलाई भावी पुस्तासम्म स्मरण गराउने उद्देश्यले सालिक निर्माण गरिएको हो ।
वि.सं. २०६६ सालमा बसपार्क निर्माणका लागि स्व. लक्ष्मण देवकोटाको नाममा उनकी धर्मपत्नी देवी देवकोटाले करिब सात रोपनी जग्गा दान गरेकी थिइन् । सदरमुकाममा व्यवस्थित बसपार्कको अभावले सर्वसाधारणले भोग्दै आएको समस्यालाई समाधान गर्न परिवारले जग्गा दान गरेको थियो । तर, सो स्थानमा सालिक स्थापना गर्न विभिन्न निकायमा पहल गर्दा सम्भव नभएपछि महेश देवकोटाले तत्कालीन सांसद अनिसा नेपालीलाई जानकारी गराएका थिए ।
सालिक निर्माणमा पहलकर्ताको भूमिका निर्वाह गरेकी नेपालीले नै शुक्रबार सालिकको अनावरण गरिन् । उनले बसपार्क अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा नआएकोप्रति चिन्ता व्यक्त गर्दै यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई नियमित सञ्चालनका लागि आवश्यक पहल गर्न आग्रह गरिन् ।
करिब सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त बसपार्क निर्माणमा अन्य स्थानीय जग्गादाताहरूको पनि योगदान रहेको छ । स्व. दीपक केसी, स्व. अर्जुन वली तथा सुरेश महर्जन र राधा शर्माले समेत बसपार्क निर्माणका लागि आफ्नो जग्गा दान गरेका थिए ।
यसअघि सदरमुकाम क्षेत्रमा स्थायी बसपार्क नहुँदा भीमसेन स्थान आसपास अस्थायी रूपमा गाडी राख्नुपर्ने बाध्यता थियो। यसले यात्रु, चालक तथा स्थानीयवासीलाई असुविधा हुँदै आएको थियो। समस्या समाधानका लागि स्थानीयको दानमा प्राप्त जग्गामा सडक डिभिजन कार्यालय दाङ र तत्कालीन जिल्ला विकास समिति सल्यानको लगानीमा बसपार्क निर्माण गरिएको हा े।
करिब दुई करोड रुपैयाँको लागतमा निर्माण गरिएको थापागाउँ बसपार्कमा ३० भन्दा बढी सवारीसाधन अटाउने क्षमता रहेको छ। यद्यपि, पूर्वाधार तयार भए पनि बसपार्क पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा यसको प्रभावकारी उपयोग हुन सकेको छैन । स्थानीयवासीले अब सम्बन्धित निकायले चासो देखाई बसपार्कलाई नियमित सञ्चालनमा ल्याउनुपर्ने माग गरेका छन् ।