भारतमा बिहेको सिजन सुरु भइसकेको छ । यसपालिको सिजनमा ४८ लाख बिहे हुने बताइएको छ । कन्फेडेरेसन अफ अल इन्डिया ट्रेडर्सलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार बिहेले अर्थतन्त्रमा ६० खर्ब भारतीय रुपैयाँ योगदान गर्नेछ ।
१ अर्ब ४० करोड जनसंख्या भएको भारतमा नोभेम्बर १२ देखि डिसेम्बर १६ सम्ममा ४८ लाख बिहे हुने भएको हो ।
गत वर्षभन्दा यो बिहेको संख्यामा ठूलो वृद्धि हो। गतवर्ष यो सिजनमा ३८ लाख बिहे भएको थियो । जसमा ४७ खर्ब भारतीय रुपैयाँको कारोबार भएको थियो । दिल्लीमा मात्रै यो सिजनमा ४ लाख ५० हजार विवाह हुने बताइएको छ। भारतमा यसपालि विवाहका १८ शुभसाइत रहेको छ ।
प्रतिविवाह ३ लाख भारु खर्च गर्नेगरी १० लाख बिहे हुने अपेक्षा छ। त्यस्तै ६ लाख भारु खर्च गर्ने १० लाख, १० लाख खर्च गर्नेगरी १० लाख, १५ लाख खर्च गर्नेगरी १० लाख र २५ लाख खर्च गर्नेगरी ७ लाख विवाह हुने अनुमान छ ।
त्यस्तै, ५० हजारवटा बिहेमा ५० लाख र अर्को ५० हजार बिहेमा १ करोडमाथिका दरले खर्च हुने बताइएको छ । एजेन्सी