काठमाडौं २० कात्तिक – जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि तीव्र असन्तुष्टि प्रकट गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले गृहमन्त्री अर्याललाई “अलोकप्रिय” र “असम्बेदनशील” नेताको संज्ञा दिएका छन् ।
गुरुङको आक्रोश मुख्यतः जेनजी आन्दोलनका क्रममा गरिएको दमन र त्यसमा संलग्न जिम्मेवार व्यक्तिहरूमाथि अहिलेसम्म कुनै कारबाही नहुँदा देखिएको हो । उनले लेखेका छन्, “तपाईंले जनताको विश्वास तोड्नुभयो । हत्यारा र भ्रष्टाचारीमाथि कारबाही गर्नुको साटो जेनजीमाथि मात्र कठोरता देखाउनु राष्ट्रप्रतिको अपमान हो ।”
उनले गृहमन्त्रीलाई शहीदहरूको रगत र आम नागरिकको आशा सम्झन आग्रह गर्दै भने, “तपाईंको पदमा बस्नु अब जनभावनाको अपमान हो। हामीलाई तपाईंबाट आशा मरिसकेको छ ।”
गुरुङले जेनजी आन्दोलनलाई चुनाव सार्ने उद्देश्यका रूपमा चित्रण गरिनु गलत भएको दाबी गरे । उनका अनुसार, “यो आन्दोलन २०८४ को निर्वाचन २०८२ मा सार्नका लागि होइन, जनताको माग र न्यायका लागि हो ।” उनले चेतावनी शैलीमा थपे, “यदि नागरिकका माग सम्बोधन भएनन् भने आगामी चुनाव हुन दिइने छैन ।”
प्रधानमन्त्री सुशीला कार्कीको “प्रिय पात्र” भन्दै गृहमन्त्री अर्यालले कुर्सी जोगाइरहेको आरोपसमेत गुरुङले लगाए । उनले भने, “प्रधानमन्त्रीको प्रिय पात्र भएर कुर्सीमा बसिरहन खोज्नु तपाईंको भ्रम हो । दुई दिनपछि हाम्रो प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।”
गुरुङका ती भनाइहरू पछिल्लो समय जेनजी आन्दोलनले सरकारमाथि बनाएको दबाबको निरन्तरता मानिएको छ। विश्लेषकहरूका अनुसार, उनका वक्तव्यहरूले आन्दोलन पुनः तीव्र बन्ने संकेत दिएका छन्, जसले सत्ता गठबन्धनभित्र पनि असन्तोष फैलाउन सक्छ ।