शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सीपी गजुरेल क्रान्तिकारी कम्युनिस्ट पार्टीको महासचिवमा नियुक्त

आइतवार , कार्तिक २, २०८२

काठमाडौँ,०२ असोज – क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य समस्या बढ्दै गएपछि पदबाट राजीनामा दिएका छन् । शनिबार राति अबेरसम्म चलेको पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले वैद्यको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नयाँ महासचिवमा नियुक्त गरेको छ ।

नेता हुकुम सिंहका अनुसार वैद्यले केही समयदेखि दम र निमोनियाबाट ग्रस्त रहँदै आएका थिए र चिकित्सकको सल्लाहअनुसार सक्रिय राजनीतिक कार्यमा संलग्न हुन नसक्ने बताएका थिए । “किरणले स्वास्थ्य अवस्था कमजोर भएकाले शारीरिक रूपमा सक्रिय हुन नसक्ने भर्चुअल माध्यमबाट बैठकमा जानकारी गराउनुभयो,” सिंहले भने, “उनको सिफारिसअनुसार पार्टीले वरिष्ठ नेता गजुरेललाई महासचिव नियुक्त गरेको हो ।”

वैद्यले गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत रूपमा महासचिवको जिम्मेवारी सम्हालेका थिए । तर पछिल्ला केही महिनादेखि उनी स्वास्थ्य उपचारका क्रममा अस्पताल भर्ना र विश्राममा रहँदै आएका थिए । वैद्यको अनुपस्थितिमा गजुरेल कार्यवाहक महासचिवका रूपमा काम गर्दै आएका थिए ।

पार्टी स्रोतका अनुसार गजुरेलको नेतृत्वमा अब संगठनलाई “नयाँ दिशातर्फ लैजाने’ तयारी भएको छ । बैठकले पार्टीको संरचना, संगठनात्मक बल, र वैचारिक एकतालाई बलियो बनाउने निर्णयसमेत गरेको जनाइएको छ ।

नेता सिंहका अनुसार वैद्यले पार्टीबाट पूर्णरूपमा अलग नभई संरक्षकका रूपमा रहनेछन् । “किरण कमरेड अब पार्टीका वैचारिक तथा सैद्धान्तिक संरक्षक रहनुहुन्छ । उहाँको अनुभव र दृष्टिकोण पार्टीका आगामी कार्यदिशा निर्धारणमा महत्वपूर्ण हुनेछ,” उनले भने ।

पार्टीका अन्य नेताहरूले पनि वैद्यको योगदानलाई ‘इतिहासमा अंकित हुने’ भन्दै उनको दीर्घ स्वास्थ्यलाभको कामना गरेका छन् । वैद्यले माओवादी आन्दोलनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उक्त बैठकले स्थायी समिति विस्तार गर्ने निर्णय पनि गरेको छ । समितिमा परी थापा र सिताराम तामाङलाई नयाँ सदस्यका रूपमा नियुक्त गरिएको छ । पार्टीका एक सदस्यले भने, “नयाँ पुस्ताको सहभागिता र वैचारिक सुदृढताका लागि यो कदम आवश्यक थियो ।”

बैठकले संगठनात्मक समीक्षा, आगामी राजनीतिक परिस्थिति र जनघटनालाई सुदृढ बनाउने रणनीतिमा पनि छलफल गरेको स्रोतले जनाएको छ ।

मोहन वैद्य ‘किरण’ नेपाली वामपन्थी राजनीतिमा दशकौंदेखि सक्रिय नाम हुन् । उनले २०५० को दशकदेखि नै क्रान्तिकारी धारको नेतृत्व गर्दै आएका थिए । उनले माओवादी आन्दोलनमा ‘जनयुद्ध’ आरम्भ गर्न वैचारिक र राजनीतिक रूपले प्रमुख भूमिका खेलेका थिए । पछिल्ला वर्षमा स्वास्थ्य समस्या बढेपछि उनी राजनीतिक गतिविधिबाट केही टाढा रहँदै आएका थिए ।

अब गजुरेलको नेतृत्वमा पार्टी कसरी अघि बढ्छ भन्ने विषयमा राजनीतिक विश्लेषकहरू चासोका साथ हेरिरहेका छन् । वैद्यको अनुभव र गजुरेलको संगठनात्मक क्षमताको संयोजनले पार्टीलाई नयाँ दिशामा लैजाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया