काठमाडौँ, ०१ कात्तिक – उज्यालो र शुभकामनाको पर्व तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् रूपमा सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेदेखि त्रयोदशी तिथि लाग्ने भएकाले यसै क्षणदेखि तिहार पर्वको औपचारिक आरम्भ मानिएको हो । आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ भने यमदीपदान पनि यही दिनदेखि सुरु भएको छ ।
समितिका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार दिउँसो त्रयोदशी तिथि लागेकाले आज बेलुकी यमदीपदान गर्नुपर्ने शास्त्रीय परम्परा हो। काग तिहार भने आइतबार बिहान मनाइने छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले बेलुकी त्रयोदशी परेका दिन यमदीपदान र बिहान त्रयोदशी परेका दिन काग तिहार मनाउने प्रचलन रहेको बताए।
धर्मशास्त्रअनुसार यमदीपदानले यमयातनाबाट मुक्ति प्राप्त हुन्छ । परिवारका सदस्य संख्याका आधारमा दक्षिण फर्काएर दीपदान गर्ने प्रचलन छ । यसै अवसरमा धनवन्तरी जयन्ती पनि आइतबार नै परेको छ ।
यस वर्ष सोमबार बिहान नरक स्नान र कुकुर तिहार एकै दिन परेको समितिले जनाएको छ । बिहान अपामार्गसहित स्नान गरी बत्ती बाल्ने प्रचलनलाई ‘नरक स्नान’ भनिन्छ, जसले नरकको यातनाबाट मुक्ति दिने विश्वास गरिएको छ । सोही दिन बेलुकी लक्ष्मीपूजा हुनेछ ।
कात्तिक ५ गते बुधबार गोवर्धन पूजा, गाईगोरु पूजा, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ हुनेछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई र गोरुका साथै आफ्नै आत्माको पूजा गर्ने परम्परा रहिआएको छ ।
कात्तिक ६ गते बिहीबार भाइटीका मनाइनेछ । समितिका अनुसार बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत रहेको छ । भाइटीका लगाउँदा दाजुभाइ पश्चिमतर्फ र दिदीबहिनी पूर्वतर्फ फर्केर बस्ने परम्परा रहँदै आएको छ ।
झिलिमिलीको पर्व तिहारमा काठमाडौँलगायतका शहरहरू अहिले नै बत्तीले झकिझकाउ छन्। कोजाग्रत पूर्णिमादेखि दीपावली निरन्तर बाल्ने चलन बढ्दो छ । दशैंमा सुनसान हुने राजधानी अहिले तिहारको उज्यालोमा रमाएको छ—भैलो, देउसी, रङ्गीचङ्गी बत्ती र हासोखेलले घरघर र सडक उज्यालो बनाइदिएका छन् ।
नेपाल प्रहरीले यसपटक पनि पटाका नपड्काई सभ्य तरिकाले पर्व मनाउन सबैलाई आग्रह गरेको छ ।