काठमाडौं,३० असोज – काठमाडौंको तीनकुनेस्थित सुविधानगरमा एउटा यस्तो रेस्टुरेन्ट छ , जसको लोकप्रियता परिकारका स्वादले मात्रै होइन, मालिकको जुँगाले पनि बढाएको छ । ‘रेसुंगा फ्यामिली रेस्टुरेन्ट एन्ड खाना घर प्रालि’का सञ्चालक तिलककुमार थापा अहिले ‘जुँगे साहु’ नामले देश–विदेशमा चर्चित छन् ।
८ वर्षअघि सुरु गरेको जुँगा पाल्ने यात्राले उनलाई अहिले ‘ब्रान्ड’ नै बनाइदिएको छ । उनले हाँस्दै भने, “म तिलक थापा होइन, धेरैको लागि त जुँगे थापा हुँ ।” उनको जुँगा अहिले करिब एक फिट लामो छ । उनले त्यो जुँगालाई दुवै कानमाथि मिलाएर राख्ने बानी पालेका छन् ।
जुँगालाई स्याहार गर्न उनले निकै समय र खर्च दुबै लगाउँछन् । “ दुई दिनमा सैलुन पुग्छु,” उनी भन्छन्, “जथाभावी तेल लगाउदिन, राम्रो उत्पादन प्रयोग गर्छु ।” उनको भनाइमा, मासिक १०–१५ हजार रुपैयाँसम्म खर्च जुँगा स्याहारमै जान्छ ।
उनको रेस्टुरेन्टको भित्तामा कलाकार, राजनीतिज्ञ र उच्च व्यक्तित्वहरूसँगका तस्बिर सजिएका छन् । गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव, उपसभामुख इन्दिरा रानामगर, वरिष्ठ कलाकार तुलसी घिमिरे, सन्दीप क्षेत्री र नायक सुमित ढुंगानाजस्ता व्यक्तिहरू पनि उनलाई भेट्न रेस्टुरेन्ट पुगेका छन् ।
“डा. यादवको सवारी चालक हुँदा उहाँसँग घनिष्ठ सम्बन्ध भएको थियो ,” उनले सम्झिए, “अहिले पनि कहिलेकाहीँ सम्पर्क हुन्छ ।”
रामेछाप मन्थलीका थापा २०५६ सालमा नेपाल प्रहरीमा भर्ती भएका थिए । १८ वर्षको प्रहरी सेवामा रहँदा उनले विभिन्न जिम्मेवारी सम्हाले, जसमा राष्ट्रपति यादवको सवारी चालकको जिम्मेवारी पनि समावेश छ । सेवाबाट अवकाश लिएपछि उनले काठमाडौंमा साथीहरूसँग साझेदारीमा रेस्टुरेन्ट सञ्चालन थालेका हुन् ।
‘रेसुंगा फ्यामिली रेस्टुरेन्ट’को साइनबोर्डमै उनको जुँगे तस्बिर छ । धेरै ग्राहकहरू ‘जुँगे साहुसँग फोटो खिच्ने’ चाहनाले पनि रेस्टुरेन्ट पुग्ने गर्छन् । उनी हाँस्दै भन्छन्, “कसैले मलाई नभेटे पनि मेरो जुँगे फोटो हेरेरै जान्छ ।”
उनको जुँगा र व्यक्तित्वले सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ । फेसबुक, टिकटक र युट्युबमा उनका भिडियो र तस्बिरहरू भाइरल भइरहेका छन् । उनले भने, “देश विदेशबाट पनि भेट्न आउनेहरू छन्, यो मेरो जुँगाको शक्ति हो ।”
भविष्यमा जुँगा काट्ने सोच छ कि भन्ने प्रश्नमा उनले ठट्टा गर्दै भने, “अब त काट्दिनँ, बरु अझै पाल्छु । यही जुँगाले म चिनिएको छु, यसले नै मेरो पहिचान बनाएको छ ।”